दमक,५ असार । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले झापाको कमल गाउँपालिका -५ स्थित निर्माणाधिन आदिवासी रंगशाला तथा स्मृति पार्क बनाउन तय भएको जग्गाको भोगाधिकार संस्थाका नाममा दिलाउने प्रतिबद्धता जनाएका छन् । मन्त्री लिम्बूले जग्गाको भोगाधिकारसहित त्यहाँ रंगशाला निर्माणलाई पूर्णता दिन सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिवद्धता जनाएका हुन् ।
रंगशाला निर्माणस्थलमा आज सरोकारवालाहरुसँगको संक्षिप्त छलफलमा मन्त्री लिम्बूले समाधिका लागि बैकल्पिक उपाय भईसकेकाले सो ठाउँमा सरोकारवालाहरुसँगको सहमति अनुसारनै आदिवासी रंगशाला बनाइने पनि उल्लेख गरे ।
कोही द्धिविधमा नपरौं, हिजो के कारण यो रंगशाला बनेन सबैलाई थाहा छ, त्यतातिर होइन अब सहमति अनुसारनै आदिवासी रंगशाला बन्छ, आवश्यक प्रकृया अघि बढाउनुस सरकारको तर्फबाट सहयोग रहनेछ–मन्त्री लिम्बूको भनाई थियो ।
आगामी आर्थिक बर्ष २०८०-०८१ को बजेट तथा कार्यक्रममा आदिवासी रंगशालालाई सरकारले समावेश गर्दै रु एक करोड रुपैयाँ विनियोजन गरिसकेको उल्लेख गदैं उनले भने, –‘प्रकृयागत रुपमा यो रंगशालालाई आवश्यक थप बजेट पनि दिलाउनुका साथै जग्गाको भोगाधिकार दिन मेरो पहिलो प्राथमिकता रहने छ ।’
रंगशालाका महासचिव दिपेनवाला राईका अनुसार त्यहाँ अनुमानित ३० विगाहा क्षेत्रफलमा ७ सय ४५ जनाको समाधि भत्काएर रंगशाला निर्माणको प्रकृया १३,१४ बर्ष अघि शुरु गरिएको थियो । पछिल्ला वर्ष रंगशालाको नाम परिवर्तन गरेर मदन भण्डारी रंगशाला राखिने र सो नाममा बजेट छुटयाइएपछि यसअघि सरोकारवालाहरुले पूर्व सहमति अनुसार आदिवासी रंगशालानै हुनुपर्ने अडान राख्दा सो योजना विवादस्पद बन्न पुगेको थियो । …