कमल,२ असार । झापाको कमल गाउँपालिका -१ स्थित नरेन्द्र जनता माविले व्यवहारिक रुपमै पूर्ण निशुल्क शिक्षा दिने लक्ष्यका साथ अक्षयकोष स्थापनाको शुरुवात गरेको छ ।शैक्षिक सरोकारवाला , दाता निकायहरुको सहयोगमा महत्वकाङ्क्षी १० वर्षे योजना अन्तर्गत कम्तीमा १ करोड पूर्ण निशुल्क कोष स्थापना गर्ने र व्यवहारिक रुपमै सो कोषबाट निशुल्क शिक्षा प्रदान गर्ने लक्ष्य लिएको बिद्यालयका प्रधानाध्यापक बद्री कार्कीले जानकारी दिए ।
कोषमा सहयोग जुटाउने र यसको सञ्चालन गर्ने सम्बन्धमा आवश्यक कार्यविधि निर्माणको चरणमा रहेको उनले जानकारी दिए । अब अभिभावक भेलाबाट कार्यविधि अनुमोदन गरेर कोषको नाममा छुट्टै बैंक खाता खोल्ने र अभियान चलाउने योजना रहेको प्रधानाध्यापक कार्कीले सुनाए । त्यसका लागि एक लाख मानर्थ सदस्य, बीस हजार आजीवन सदस्यसहितको कोष निर्माण गर्ने योजना अन्तर्गत अहिले सम्म १५० पूर्व विद्यार्थीहरुसँग कुराकानी भइरहेको उनले बताए । उनले भने, ‘हामीले व्यवस्थापन समिति र सरोकारवालाहरुसँगको समेत छलफलबाट महत्वकांक्षी लाग्ने यो योजना अघि सारेका हौं।’
बिद्यालयले यसैबर्षदेखि सो योजना अघि सारेर सार्वजनिक रुपमानै सो कोषमा सहोगका लागि आव्हान गरिसकेको छ । हाम्रो आव्हानलाई धेरैले सकारात्मक रुपमा लिनु भएको छ– प्रधानाध्यापक कार्कील उत्साहित हुँदै भने –‘बिद्यालयको यो कोषमा भूतपूर्व बिद्यार्थी लगायत सरोकारवालाहरुबाट सरसहयोग जुट्ने क्रम बढ्दै गएको छ ।’
कार्कीका अनुसार पछिल्लो समय अमेरिकामा बस्दै आएकी सोही ठाउँका टिकाराज खड्काकी छोरी तथा पूर्व बिद्यार्थी दुर्गा खडकाले नगद एक लाख रुपैयाँ सो कोषका लागि र २५ हजार रुपैयाँ बिद्यालय सञ्चालनमा आवश्यकता अनुसार खर्च गर्ने गरि सहयोग उपलव्ध गराएकी छिन् । यसअघि सो कोष स्थापनाको घोषणाकै अवसरमा स्थानीय गणेश कार्कीले एक लाख रुपैयाँ सो कोषमा जम्मा हुने गरि प्रदान गरिसकेका छन् ।