दमक, २५ जेठ । मोटरसाईकल दुर्घटनामा परेर आज दिउँसो दमकमा एक जना वृद्धाको ज्यान गएको छ । दमक ९ स्थित पाणिनी मावि नजिकै दक्षिणतर्फबाट मोटरसाईकलमा पछाडि सवार ६४ बर्षिया हिरादेवी धिमालको अचानक मोटरसाइकलबाट लडेर मृत्यु भएको हो ।
मृतक दमक नगरपालिकाका कार्यपालिका सदस्य एवं नेकपा एमाले प्रदेश कमिटी सदस्य लोकबहादुर धिमालकी श्रीमती हुन् ।धिमाल दम्पती आज दिउँसो करिब २ बजे मोटरसाइकलमा घर तर्फ आउँदै गर्दा बाटोमा दुर्घटनामा परेका थिए ।
तत्काल धिमाल दम्पतीलाई उद्धार गरी अस्पताल पुरयाइएकोमा श्रीमती हिरादेवीलाई आजै साँझ विर्तामोडस्थित बिएण्डसी अस्पताल पुरयाँउन साथ मृत घोषणा गरेको दमक ९ का वडाध्यक्ष कुबेरप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार मोटरसाइकलबाट लडेका धिमाल समेत सामान्य घाईते भएका छन् । उनीहरु मोरङको राजघाटस्थित ससुराली घर पुगेर फर्किने क्रममा सो दुर्घटना भएको वडाध्यक्ष भट्टराईले बताए । प्रहरीले घटनाका बारे थप अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।