झापा , २४ जेठ । कोशी प्रदेश नामकरणप्रति असन्तुष्ट जनाउदै दुई महिनादेखि आन्दोलनरत पहिचानवादीहरुसँग वार्ता गर्न सरकारले तीन सदस्यीय वार्ता समिति बनाएको छ ।प्रदेश नामकरणमा पहिचानलाई लत्याइएको भन्दै आन्दोलितहरुसँग वार्ताका लागि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बो संयोजक रहने गरी तीन सदस्य वार्ता टोली बनाएको हो। बुधबार गठित तीन सदस्यीय उच्चस्तरीय समितिको सदस्यहरुमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र कृषिमन्त्री भक्तिप्रसाद सिटौला छन्।
२०७९ फागुन १७ गते प्रदेश १ स्थित प्रदेशसभाको बैठकले बहुमतसहित कोशी पारित गरेको थियो ।कोशी नामले किराती र लिम्बुहरुको पहिचान नसमेट्ने बताउँदै अर्को नाम राख्न मागसहित पहिचानवादीहरु चरणवद्ध आन्दोलनमा छन्।
उनीहरुले संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन्। यही आन्दोलनका क्रममा बिराटनगरमा तेह्रथुमका पदम लिम्बू (लाजेहाङ) ले ज्यान गुमाएका थिए ।आन्दोलनका क्रममा पहिचानवादीहरुले मुख्यमन्त्री हिक्मतकुमार कार्की र अन्य मन्त्रीहरुमाथि आक्रमण गरिसकेका छन् । पछिल्लो समय उनीहरुले बिराटनगरकेन्द्रित आन्दोलन पनि गरिरहेका छन्।