कमल,७ जेठ । कमल गाउँपालिकाको भुगोलमा रहेका ३२ मध्ये २५ वटा सहकारीहरुको अवस्थाबारे स्थानीय सरकार अन्तर्गतको अनुगमन टोलीले अनुगमन गरेको छ । गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी नेतृत्वको टोलीले सहकारीमा रहेको तरलताको अवस्थाबारे जानकारी लिएर आवश्यक सुधारका लागि सुझाव दिने उद्धेश्यले अनुगमन गरेको हो ।
ति मध्ये दुई वटा सहकारी आपसमा एकीकरणको प्रकृयामा रहेको पाइएको छ । त्यस्तै पाँच वटा सहकारीको अवस्था समस्याग्रस्त देखिएको उपाध्यक्ष न्यौपानेले जानकारी दिईन् ।
धेरै जसो सहकारीहरुमा नियम अनुसार विनियम संशोधन नगरेको, संस्थामा रहेको रकम पदाधिकारी र सदस्यहरुले नियम विपरित कर्जा चलाएको, आवश्यक उपसमितिहरु नबनाई प्रकृया नपुरयाई ऋण लगानी गर्दा निक्षेपकर्ताहरुको रकम जोखिममा पर्ने खतरा रहेको, लाभांश वितरणमा जोड दिई वित्तिय अवस्था अवस्था कमजोर बनाएको पनि पाइएको छ ।
कतिपय संस्थाहरुले सरकारलाई बुझाउनु पर्ने राजश्व नतिरेको, व्यवसाय प्रवद्र्धन कोष र स्वरोजगार कोषको रकम फिर्ता नगरेको र सदस्यता शिक्षा नदिएको जस्ता कम्जोरीहरु अनुगमनका क्रममा देखिएको छ । नियम मिच्ने सहकारी संस्थाहरुलाई सचेत गराएर तत्काल गल्ती सच्याउन आवश्यक निर्देशन गरिएको उपाध्यक्ष न्यौपानेले बताईन् ।