झापा , २६ बैशाख । पाथीभरा जाने क्रममा गत २२ गते बिहानदेखि बेपत्ता झापाको अर्जुनधारा नगरपालिका–५ का लोकप्रसाद पराजुली मृत भेटिएका छन् ।६० वर्षीय पराजुलीलाई खोजतलास गर्ने क्रममा मंगलबार बिहान जंगलमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । लिम्बूका अनुसार माथिल्लो फेंदीदेखि करिब अढाइ-तीन किलोमिटर उत्तरपट्टीको जंगल क्षेत्रमा उनको शव भेटिएको हो । परिवारका सदस्यसहित पाथीभरा दर्शनका लागि गएका उनलाई माथिल्लो फेंदीदेखि मान्छेलाई पिठ्यूँमा बोकाएर लगिएको थियो । शौचालय जान भन्दै जंगलतर्फ पसेका उनी नफर्किएपछि खोजी भएको हो । उनको परिवार भने पूजापाठ गर्न दुई दिन अघिदेखि नै मन्दिरमा रहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।
उनलाई पूजा समापनको दिन पुग्ने गरी लगिएको थियो । उनी हराएर खोजतलास गर्दा नभेटिएपछि परिवारका कतिपय सदस्य झापा पुगेर सोमबार फेरि आएको प्रहरीले बताएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाउने प्रहरीले जनाएको छ । प्रहरी निरीक्षकको नेतृत्वमा घटनास्थलको अध्ययन गरी शव उठाउने र पोस्टमार्टम गर्ने प्रक्रियामा जाने प्रहरीले जनाएको छ ।