काँकडभिट्टा, २१ वैशाख । यसवर्ष पूर्वीनाका काँकडभिट्टाबाट भारततर्फ कृषि वस्तुको आयातभन्दा निर्यात लगभग दोब्बर भएको छ ।प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्देश्वर ठाकुरले चालू आर्थिक वर्षको नौ महिनामा काँकडभिट्टा नाकाबाट खाद्यान्न तथा कृषि उपजको आयातभन्दा निर्यात रु. सात अर्ब बढी भएको बताए ।
चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा यस नाकाबाट रु. १६ अर्ब १९ करोड १७ लाख ३१ हजार मूल्य बराबरको एक लाख ५६ हजार ९९२ मेट्रिक टन खाद्यान्न तथा कृषि उपज निर्यात भएको थियो ।
सोही अवधिमा काँकडभिट्टा नाका भएर रु. नौ अर्ब ३० करोड ५८ लाख ८० हजार मूल्य बराबरको तीन लाख छ हजार १२८ मेट्रिक टन खाद्यान्न तथा कृषि उपज आयात भएको छ ।नेपालबाट निर्यात सबैभन्दा धेरै निर्यात हुने मालबस्तुमा क्रमशः अलैची, चिया, प्लाइउड र अदुवा रहेको छ भने सबैभन्दा धेरै आयात हुनेमा तरकारी, फलफुल, सोयाबिन र आलु रहेको छ ।
सत्र करोडको बन्दाकोभी भारत निर्यात
नेपालबाट काँकरभिट्टा नाका हुँदै चालू आर्थिक वर्षको नौ महिनामा रु. १७ करोड भन्दा बढीको बन्दाकोभी भारत निर्यात भएको छ ।नेपालको धनकुटा, इलाम, झापा लगायतका जिल्लामा उत्पादन हुने बन्दाकोभी वर्षेनी भारतीय बजारमा जाने गरेको छ ।
प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार साउनदेखि चैत मसान्तसम्मको नौ महिना अवधिमा काँकडभिट्टा नाका भएर रु. १७ करोड ६८ लाख ६८ हजार मूल्य बराबरको १० हजार १०३ मेट्रिक टन बन्दाकोभी भारत निर्यात भएको हो ।प्लान्ट क्वारेन्टाइन कार्यालयका सूचना अधिकारी ठाकुरले काँकडभिट्टा नाकाबाट खाद्यान्न तथा कृषि उपजको आयातभन्दा निर्यात बढी हुने गरेको बताए ।