द एभरेष्ट शाकोसको बार्षिकोत्सवमा ३३ पिन्ट रगत संकलन

दमक,९ बैशाख ।  दमक- ५ स्थित बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले १२ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदानमा ३३ पिन्ट रगत संकलन भएको छ ।
संस्थाको कार्यालय परिसरमा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपानेको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा संस्थाका सञ्चालक समिति, कर्मचारी र अन्य इच्छुक रक्तदाताहरु गरि ३३ जनाले रगतदान गरेका छन् ।
रक्तदान गर्नेमा कर्मचारीहरु रामकुमार प्रधान, कुवेर ढुंगेल, मिना डोल्मा तामाङ,सुमिरा श्रेष्ठ, सन्जु घिमीरे, विपना मगर, मिलन गजमेर, राजन प्रसाद दाहाल लगायत रहेका छन् । रक्तदान नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा भएको थियो । रक्तदाताहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।सो अवसरमा व्यववस्थापक धर्मानन्द भट्टराईले संस्थाको वित्तिय कारोबारको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
उनले संस्था ५३ करोड रुपैयाँ ऋण असुल गर्ने प्रकृयामा रहेको र ४७ करोड रुपैयाँ निक्षेप फिर्ताको प्रकृयामा रहेकाले बजारमा उत्पन्न असहज परिस्थितिसँगै संस्थामा देखिएको समस्या समाधान भएर जाने उल्लेख गरे ।
सो अवसरमा प्रमुख अतिथि न्यौपानेले अहिले देशैभर सहकारी अभियानलाई असफल बनाउने गलत उद्धेश्यले प्रहार भइरहेको बताउँदै संकटका समयमा संस्थाका सदस्य, सञ्चालक समिति र कर्मचारीहरु समेतको सहकार्य र समन्वयको खाँचो औंल्याए । उनले सहकारी संस्थाको सञ्चालक समिति संस्थाप्रति सबैभन्दा बढी उत्तरदायी हुनुपर्ने र अप्ठयारो परिस्थितिको सबैको सामूहिक प्रयत्नबाट समाधान खोजिनुपर्ने पनि बताए ।
बार्षिकोत्सवमा संस्थाका सञ्चालक समितिका सदस्य ,उपसमिति, शेयर सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.