गौरादहको एक घरमा आगलागी, ३० लाखको क्षति

गौरादह,८ बैशाख । झापाको गौरादह– ४ मियाटोली निवासी कृष्ण ढुंगेलको घरमा आगलागी हुँदा करिव ३० लाखबरारको क्षति भएको छ ।बिहिबार दिउँसो ३ बजे घरमा कोही नभएको बेला घरको माथिल्लो तलाबाट शुरु भएको आगलागीले घरससहित त्यहाँको सम्पूर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।
घरबाट मोटरसाइकल र ग्यास सिलिन्डर मात्र निकाल्न सफल भएको र अरु सबै जिन्सी, नगद, गरगहना ,धान चामल, भाडाकुडा, फर्निचरलगायत सम्पूर्ण सामान जलेर नष्ट भएको जनाइएको छ । आगलागीबाट घरछेउको परालको कुन्युसमेत जलेर नष्ट भएको छ । आगलागी गौरादह नगरपालिका ,कमल गाउँपालिका र दमक नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागी बिद्युत् सर्ट भएर लागेको हुन सक्ने आशंका गरिएको छ ।
सप्तरीमा १५ घर जलेर नष्ट
सप्तरीको खडक नगरपालिकामा आगलागी हुँदा १५ घर जलेर नष्ट भएको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार घुरबाट सल्केको आगोका कारण १५ घर जलेर खरानी भएको हो । प्रहरीका अनुसार करिब ६५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार खडक नगरपालिका–९ बज्राहीगुठी टोलमा घरपछाडि बालेको घुरबाट आगो सल्किँदा १५ घरसँगै खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा जल्दा ६५ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको हो ।
आगोले सुरेन्द्रप्रसाद चौधरी, धीरेन्द्र चौधरी, राजेन्द्रप्रसाद चौधरी, हरिहरदेवी चौधरी, भरत चौधरी, मोहनप्रसाद चौधरी, शत्रुघ्न चौधरी, रविन चौधरी, अमिन चौधरी, सचिन चौधरी, सबुरलाल चौधरी, मिश्रीलाल चौधरी, हरि चौधरी, नेमन चौधरी र नन्द चौधरीको घर जलेको हो ।

आगो नियन्त्रणमा लिनका लागि शम्भुनाथ र राजविराज नगरपालिकाको दमकलको सहयोग लिइएको थियो । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.