मेयर साम्पाङले भने, –‘पुस्तक, पोसाक तोकेकै पसलबाट किन्न बाध्य गराएको भए उजुरी गर्नुस ’

धरान, ७ बैशाख । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले नगरवासीलाई निजी विद्यालयहरूले तोकेकै पसलबाट पाठ्यपुस्तक, झोला र पोसाक किन्न बाध्य बनाएका छन् भने उजुरी दिन आह्वान गरेका छन्।

नयाँ शैक्षिक सत्र सुरु भएका बेला देशका विभिन्न ठाउँमा निजी विद्यालयहरूले आफैँ पुस्तक, झोला तथा ड्रेस बेच्ने तथा यी सामग्री उनीहरूले तोकेकै पसलबाट किन्न बाध्य पारेको खबर सार्वजनिक भइरहेका बेला धरानका मेयर साम्पाङले आफ्नो नगर क्षेत्रमा पनि यस्तो बाध्यता छ भने आफूकहाँ उजुरी लिएर आउन अनुरोध गरेका हुन्।
उनले बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘निजी विद्यालयहरूले तोकेकै पसलबाट मात्रै पुस्तक, झोला, ड्रेसजस्ता सामग्री किन्न वाध्य बनाएको छ भने उजुरी दिन सक्नु हुनेछ।’

यसअघि स्वतन्त्रबाटै उठेर काठमाडौँ महानगरको मेयर बनेका बालेन शाहले पनि यस विषयमा आफूकहाँ गुनासो आएको भन्दै निजी विद्यालयहरूलाई कारबाही गर्ने चेतावनी दिएका थिए। हर्क साम्पाङ पनि स्वतन्त्र उम्मेदवारी दिएरै धरान उपमहानगरपालिकाको मेयर पदमा विजयी भएका हुन्।

Leave a Reply

Your email address will not be published.