बिर्तामोड,६ बैशाख । झापामा नारी सञ्चार गृहले जिल्लाका दुई पत्रकारलाई पुरस्कृत गरेको छ । बुधबार नारी सञ्चार गृहले बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरि अग्रज पत्रकार साबित्रा दाहाल र सुस्मा राजवंशीलाई पुरस्कृत गरेको हो ।
नारी सञ्चार साधना सम्मान पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार दाहाललाई पुरस्कृत गरिएको छ । उनलाई नगद १ लाख १ हजार १ सय रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको हो । नेपालको पहिलो महिला सम्पादक तथा राजनीतिज्ञ साधना प्रधानको नाममा स्थापित ‘नारी सञ्चार साधना सम्मान पत्रकारिता पुरस्कार’ पहिलो पटक दाहाललाई प्रदान गरिएको हो । दाहाल झापाली महिला पत्रकारहरुको छाता संस्थाको रुपमा स्थापित सञ्चार गृहको संस्थापक अध्यक्ष समेत हुन् भने प्रेस चौतारी नेपालको निर्वाचन आयोग सदस्य हुन् ।
त्यस्तै युवा पत्रकारिता पुरस्कारबाट पत्रकार सुस्मा राजवंशीलाई प्रदान गरिएको छ । राजवंशीलाई नगद २५ हजार र सम्मान पत्र प्रदान गरिएको थियो ।युवा पत्रकारिता पुरस्कार महिलाको बिषयमा कलम चलाउने एक जना युवा पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने नारी संचार गृह झापाकी निवर्तमान अध्यक्ष भिमा शिवाकोटीले जानकारी दिइन् । प्रत्येक दुई बर्षमा महिला तथा पुरुष पत्रकारलाई पुरस्कृत गरिने उनले बताइन् । उनका अनुसार नारी सञ्चार साधना सम्मान पत्रकारिता पुरस्कार महिला पत्रकारलाई मात्र प्रदान गरिने छ ।
नारी सञ्चार गृहले ‘नारी सञ्चार प्रोत्साहन अक्षय कोष’ को ब्याजबाट पुरस्कार राशिको ब्यवस्था गर्ने गृहकी अध्यक्ष रेजिना गौतमले जानकारी दिइन् । गृहले कोषमा ३३ लाख रुपैयाँ जम्मा गरिसकेको छ ।