दमक,६ बैशाख । नेपाल उद्योग तथा व्यवसायी महासंघ दमक नगर कमिटीले दमकको नमुना बजारलाई स्थापनाकै अवस्थामा पुनस्र्थापना गर्न ध्यानाकर्षण गराएको छ । दमक वडा नम्बर ६ स्थित नमुना बजारको स्थापनाकालको अकर्षण र मनमोहकता हराएको भन्दै महासंघ नगर कमिटीले वडा कार्यालयको ध्यानकर्षण गराएको हो ।
महासंघ नगर कमिटी अध्यक्ष रमेश लुईंटेलको नेतृत्वमा गएको ब्यबसायीको टोलीले दमक ६ का वडाअध्यक्ष टेकबहादुर थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै नमुना बजारको अकर्षण फर्काउन माग गरेको हो । दमकको मुख्य बजारको मुटुमा रहेको नमुना बजार पछिल्लो समय पहिलाको जस्तो आकर्षक नभएको र त्यहाँको मनमोहकता हराएको ध्यानाकर्षण पत्रमा जनाईएको छ । महासंघ नगर कमिटि अध्यक्ष लुईंटेल र सचिव निरोज आचार्यले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा नमुना बजारको आकर्षण हराए संगै हाल सो क्षेत्रको ब्यापार ब्यवसाय पनि घटेको जनाईएको छ । बजारको सौन्दर्य बढाउन र बजारलाई आकर्षक बनाउन वडा कार्यालयले ल्याउने योजनामा महासंघ समेत सहकार्य गर्न तयार रहेको ध्यानाकर्षण पत्रमा जनाईएको छ ।
नमुना मार्ग जीर्ण बन्दै जाँदा पहिला जस्तो मानिसहरुको चहलपहल पनि घटेकाले बजारको आकर्षण फर्काउन ध्यानाकर्षण गराएको महासंघ नगर कमिटि अध्यक्ष लुईंटेलले बताए । ध्यानाकर्षण पत्र बुझ्दै वडाअध्यक्ष थापाले नमुना बजारलाई नमुना बनाउन आफु प्रयत्नशील रहेको बताए ।