दमक ,५ बैशाख । झापाको कमल गाउँपालिका वडा नं ५ स्थित नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको आयोजनामा आज मंगलबार एक दिने निशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ ।
मेची आँखा अस्पताल विर्तामोडसँगको सहकार्यमा रेडक्रस भवनमा सञ्चालित शिविरमा सो क्षेत्रका २७६ जना बढी सर्वसाधारणले आँखा परीक्षण गराएका छन् ।
१८६ जना महिला, ७१ पुरुष र १५ बालबालिकासहित सो संख्यामा सर्वसाधारणले आँखा जाँच गराएका छन् । ति मध्ये कूल १५ जनाको आँखामा मोतिया विन्दुको समस्या देखिएको र धेरै जसोमा आँखामा पानीको कमीका कारण सुख्खापन भई आँखा चिलाउने, टाउको दुख्ने जस्ता समस्या देखिएको उपशाखाका सभापति चन्द्र साहले बताए ।
शिविरमा अस्पतालका आँखा सम्बन्धि चिकित्सकहरु नेत्र सहायक चन्द्रराज साह, दुर्गेश पासवान, कपिल राजवंशी लगायत आधा दर्जन बढी स्वास्थ्यकर्मीहरुले प्रत्यक्ष सेवा दिएका थिए । शिविरमा औषधी तथा चश्मा समेत निशुल्क वितरण गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखा र मेची अस्पतालबीच भएको बार्षिक सम्झौता अनुसार सो कार्यक्रम गरिएको उपसचिव बिष्णु सुब्बाले जानकारी दिए । कमल उपशाखाले केही समय अघि गाउँपालिका अन्तर्गतका तीन वटा सामुदायिक बिद्यालयमा समेत विद्यार्थी र अभिभावकहरुलाई लक्षित गरि शिविर सञ्चालन गरेको थियो । शिविरमा रेडक्रस उपशाखाकी उपसभापति चन्द्रकला भण्डारी,कोषाध्यक्ष प्रमोद दाहाल, उपकोषाध्यक्ष सन्तोष राई, अस्पतालकी जनसम्पर्क अधिकारी कविता कार्की कडरिया,रेडक्रसका सदस्यहरु सिताराम बाँस्तोला, तुलसी तिवारी ,सुरेन्द्र लिम्बू,बिमला भट्टराई ,जग्गादाता मुक्ति कार्की लगायतको समेत उपस्थिति रहेको थियो ।