झापा ,३ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । अध्यक्ष ओलीले आइतबार सामाजिक सञ्जालमार्फत आफू अस्वस्थ भएको जानकारी दिएका हुन् । ‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु’ अध्यक्ष ओलीले भनेका छन्– ‘तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरूको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरूमा सहभागी हुन सकिरहेको छैन ।’
अध्यक्ष ओलीले तनहुँ, बारा र चितवनमा एमालेले योग्य उम्मेदवार उठाएको बताउँदै उनीहरूलाई विजयी गराउन मतदाताहरूसमक्ष आग्रह गरेका छन् ।
उनले स्वास्थ्य अवस्था ठिक भएपछि उपयुक्त समयमा मतदाताहरूसँग भेट्न आउने बताउँदै तीनै जना उम्मेदवारहरूलाई विजयको शुभकामना समेत दिएका छन् ।