दमक,२९ चैत । नेपाली कांग्रेससँग आबद्ध नेपाल यातायात मजदुर संघको ७ औं राष्ट्रिय महाधिवेशनबाट दमकका यातायात व्यवसायी विश्वासबाबु कास्यप केन्द्रीय सचिवमा निर्बिरोध निर्वाचित भएका छन् ।
बिरगञ्जमा चैत २६ र २७ मा सम्पन्न संघको राष्ट्रिय महाधिवेशनबाट ग्यालेक्सी यातायात प्रालिका संस्थापक तथा विभिन्न संघसंस्थामा आबद्ध रहेका विश्वास बाबु सचिव पदमा निर्विरोध चयन भएका हुन् । नवनिर्वाचित सचिव कास्यप यसअघि संघको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका थिए । त्यस्तै, उनी लायन्स क्लव , दमक जेसीज लगायतका सामाजिक संस्थाको विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् ।उनीसंगै दमकका डार्विन संग्रौला पनि केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भए ।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको प्रमुख आतिथ्यतामा भएको महाधिबेशनको उद्घाटनमा टे«ड यूनियन काँग्रेसका राष्ट्रिय अध्यक्ष पुष्कर आचार्य, यातायात महासंघका अध्यक्ष विजय सुँवार ,टे«ड यूनियनका राष्ट्रिय उपाध्यक्ष अजय कुमार राईको समेत देशभरिका ६ सय बढी मजदुरहरुको उपस्थिति रहेको थियो ।
“यातायात पेशालाई मर्यादित बनाऔं, यातायात मजदुरलाई सामाजिक सुरक्षामा समावेश गराऔं” भन्ने नाराका साथ सम्पन्न महाधिबेशनले पुनः धर्मराज भण्डारीको अध्यक्षतामा ५३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।