राप्रपाका शीर्ष नेताहरूले भेटे पूर्वराजालाई

दमक,८ चैत । राप्रपाका शीर्ष नेताहरूले बुधबार दमक आएर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेका छन् । दमकमा पुगेर शीर्ष नेताहरूले पूर्व राजालाई भेटेर पछिल्लो राजनीतिक अवस्थाका बारे छलफल गरेका हुन् ।
भेटघाटमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनी र महामन्त्री धवल शमशेर राणा सहितका शीर्ष नेताहरू थिए । भेटमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको राप्रपा अध्यक्ष लिङदेनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिए लगतै पूर्व राजासँगको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
अध्यक्ष लिङदेनले भने संयोगवश भएको बताएका छन । ‘सरकारमा सहभागी भएपछि र अहिलेको अवस्था बारे हामीले जानकारी गरायौ,’ उनले भने ‘पूर्वराजा पनि देशको बिग्रँदो अवस्था देखेर चिन्तित हुनहुन्छ ।’ पूर्वराजा केही दिनदेखी दमकको आफनो मिनी दरबारमा बस्दैआएका छन् ।
राप्रपाका वरिष्ठ नेता डा. लोहनीले भेटवार्ताका क्रममा पूर्वराजाबाट देशको अवस्थाबारे चिन्ता प्रकट भएको बताए । ‘अहिले नेपालको विग्रदो आर्थिक स्थिति, राजनीतिमा देखिएको अस्थिरताले राष्ट्रमा पर्न सक्ने असरबारे उहाँको चिन्ता थियो,’ डा. लोहनीले भने । सबै राजनीतिक शक्तिहरुले देशको समस्या समाधानका लागि मिलेर काम गरुन भन्ने पूर्वराजाको चाहना रहेको उनले उल्लेख गरे ।
डा. लोहनीले राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापनाको विषयमा पनि छलफल भएको बताए ।

Leave a Reply

Your email address will not be published.