स्ववियु निर्वाचनले उत्साह थपियो : शेर्पा, सभापति नेविसंघ

दमक,७ चैत । नेपाल विद्यार्थी संघ केन्द्रीय तर्दथ समितिका सभापति दुजाङ्ग शेर्पाले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा नतिजाले नेविसंघमा उत्साह थपिएको बताएका छन् ।
नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिले मंगलवार दमकमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सभापति शेर्पाले त्रिवि केन्द्रीय क्याम्पससहित देशका विभिन्न क्याम्पसका स्ववियु जितेर पहिलो संगठनको शाख बनाएको दावी गरे ।करिव १४ बर्षपछि स्ववियूको निर्वाचन सम्पन्न हुनु आफैमा सुखद भएको उनको भनाई थियो ।
निर्वाचनमा हारजीत स्वभाविक भएको बताउदै उनले तर स्ववियू संस्थालाई क्रियाशील बनाउदै यसवाट देशको शैक्षिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । विद्यार्थीको हकअधिकारका लागि स्ववियूको भूमिका हुने उनको भनाई थियो । उनले भने, –‘स्ववियुले अव शैक्षिक संगै उद्यमशीलता तर्फ आर्कषित हुने गरी फरक किसिमको आन्दोलनमा होमिनु जरुरी छ ’
उनले नेविसंघको आसन्न १३ औ महाधिबेशन स्ववियुको निर्वाचन लगत्तै अव बस्ने केन्द्रीय समितिको बैठकले तय गर्ने जानकारी दिए । जिल्ला तथा क्याम्पसमा संघले विधिवत अधिबेशन शुरु भईसकेकाले जनकपुरमा नै महाधिबेशन सम्पन्न गर्न वर्तमान समिति प्रतिवद्ध भएको उनले बताएका छन् । संगठनका क्षेत्रीय अध्यक्ष बिष्णु पौडेलको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू, दमक बहुमुखी क्याम्पसका नवनिर्वाचित स्ववियु सभापति सोबिम न्यौपाने, सचिव दिपक लिम्बू लगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.