दमक,७ चैत । दमक नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको सहमति बिनानै एकपक्षीय रुपमा विभागीय समितिहरु गठन गरिएको छ ।नेकपा एमाले र राप्रपासहितको सहमतिमा भागबन्डा गरि विभागीय समिति गठन गरिएको हो भने कांग्रेसले भने मूलभूत समितिमा आफूले नेतृत्व नपाएपछि ती समिति अस्वीकार गरेको खुल्न आएको छ । आज नगरपालिकामा बसेको कार्यपालिकाको बैठकले आधा दर्जन बढी विभागीय समिति गठन गर्ने बैठकको कार्यसूचि अनुसार विभागीय समिति गठन गरिएको नगरपालिकाले जनाएको छ ।
बैठकले नगर प्रमुख रामकुमार थापालाई स्वास्थ्य समितिको संयोजक, दमक ८ का वडाअध्यक्ष धर्मप्रसाद दाहाल ( दिपेश ) लाई प्रवक्ताको जिम्मेवारी पाएका छन् भने दमक ९ का वडाअध्यक्ष कुवेर भट्टराईलाई शिक्षा समिति, दमक ९ का पूर्व वडा सदस्य भिमराज चम्लागाईलाई खेलकुद समितिको संयोजक र दमक १ का पूर्व वडाअध्यक्ष ताराप्रसाद अधिकारीलाई ससहसंयोजकको जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको छ ।
त्यस्तै, नगर उपप्रमुख रेगिना भट्टराईलाई दमक प्रज्ञा प्रतिष्ठानको सिफारिस संयोजकको जिम्मेवारी दिईएपनि बस्न अस्वीकार गरेको नवनियुक्त प्रवक्ता दाहालले बताएका छन् । उनका अनुसार कांग्रेसबाट निर्वाचित दमक ४ का वडाअध्यक्ष पूण्यप्रसाद दाहाललाई सहकारी समिति र दमक १० का वडाअध्यक्ष राजेन्द्र भण्डारीलाई भवन अनुगमन तथा मापदण्ड समितिका संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । बैठकले दमक ३ का वडाअध्यक्ष नविन बराललाई बेलडाँगी वजार व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको प्रवक्ता दाहालले जानकारी दिए ।अल्पमतमा रहेका कांग्रेसका जनप्रतिनिधिलाई महत्वहीन विभागीय जिम्मेवारी दिइएकाले बस्न अस्वीकार गरेको उनीहरुको भनाई छ ।