दमक,२ चैत । चट्याङले लागेर पाँचथर र धनकुटामा चारजना घाइते भएका छन् ।प्रहरीका अनुसार हिजो साँझ पाँचथरको तुम्बेवा गाउँपालिका–२ मा चट्याङ लाग्दा २४ वर्षीया नेत्रकुमारी मगर र बुधमाया मगर घाइते भएकी हुन् । स्थानीय कृष्णजीत मगरको गाइगोठमा चट्याङ परेको थियो । चट्याङको छर्रा लाग्दा नजिकै रहेका नेत्रकुमारी र बुधमाया घाइते भएका हुन् । घाईते मध्ये नेत्रकुमारी इन्द्रजीतकी छोरी र बुधमाया बुहारी भएको खुलेको छ ।
चट्याङ लाग्दा गोठमा बाँधेको गाई र तुम्बेवा–१ का छबिन्द्र पाण्डेका दुईवटा बाख्रा पनि मरेको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि धरान पठाइएको छ । त्यस्तै धनकुटामा हावाहुरीसँगै चट्याङ पर्दा दुई जना घाइते भएका छन् भने चार पशुपंछी मरेका छन् ।
चौबिसे गाउँपालिका–१ पोखरीमा अपराह्न साढे ४ बजे चट्याङ पर्दा स्थानीय ३२ वर्षीय चन्द्रकुमार श्रेष्ठ घाइते भएका छन् । यस्तै, धनकुटा नगरपालिका–१० पात्लेकी ५० वर्षीया तारा कार्की घाइते भएको प्रहरीले जनाएको छ । वस्तुलाई वर्षात जोगाउन त्रिपाल ओढाउने क्रममा चट्याङ पर्दा श्रेष्ठ घाइते भएका हुन् । घटनामा उनको गोठमा बाँधिएका दुई वटा गाईवस्तु मरेका छन् ।
चट्याङबाट श्रेष्ठले लगाएको कपडा जलेको छ भने बायाँ हात जलेको प्रहरीको भनाइ छ । स्थानीय मेडिकलमा उपचारपछि उनी घर फर्किएका छन् । यस्तै घरमै बसिरहेको बेला चट्याङ पर्दा कार्की सामान्य घाइते भएकी हुन् । उनको जिल्ला अस्पतालमा उपचार गरिएको छ । दुवै घटनामा गरी १ लाख ९० हजार बराबरको क्षति पुगेको जनाइएको छ ।
चटयाङ लागेर परालको कुन्युमा आगलागी
चटयाङ लागेर झापा, गौरादह १ बेलडाँगीका स्थानीय रुद्र भण्डारीको परालको कुन्युमा आगलागी भएको छ । बुधबार साँझ ६ वजेतिर अचानक चट्याङ लागेर भण्डारीको परालको कुन्यु जलेर नष्ट भएको थियो । आगलागी भएको कुन्यु कमल,गौरादह , दमकको बारुणयन्त्र र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।यसैगरि, मोरङ, मिक्लाजुङ ८ नुनसरी सामुदायिक बनको रुखमा चट्याङले लागेको थियो ।