अब प्रदेश -१ को नाम ‘कोशी’

झापा,१७ फागुन । प्रदेश -१ प्रदेशसभा बैठकले प्रदेशको नाम टुंगो लगाएको छ। प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम ‘कोशी ’राख्ने प्रस्ताव पास गरेको हो।
आज दिउँसोबाट सुरु भएको बैठकमा नामकरण माथिको छलफल सकिएसँगै प्रदेशको नाम टुंगो लगाएको हो। प्रदेश सभाले संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेशको नामकरणका लागि प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसमेत)को नियम ५८ ख १ बमोजिम प्रस्ताव आह्वान गरेको थियो।

सत्तारूढ नेकपा एमालेको प्रस्तावमा मुख्य विपक्षी कांग्रेस, सत्तारूढ माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले समर्थन जनाउँदा प्रदेश नामकरण दुई तिहाईभन्दा बढी मतले पारित भएको हो। सभामुख बाबुराम गौतमले प्रदेशको नाम कोशी राखिनुपर्छ भन्ने प्रस्तावका पक्षमा ८२ मत परेको घोषणा गरेका छन्।
कोशी प्रदेशको प्रस्तावमाथि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई र कमल जवेगुले ‘किरात लिम्बुवान सगरमाथा’ नामको संशोधन प्रस्ताव दर्ता गरेका थिए। तर संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १२ र राप्रपाका ६ सांसद तथा विपक्षमा रहेका नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।

Leave a Reply

Your email address will not be published.