दमक,६ फागुन । दमक नगरपालिका वडा नम्बर ३ का भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई धनीपुर्जाको निस्सा वितरण गरिएको छ ।
वडा नम्बर ३ ढुकुरपानीस्थित रामचन्द्र मन्दिर परिषरमा शुक्रवार एक कार्यक्रम गरी दमक नगर प्रमुख रामकुमार थापा, उप प्रमुख रेगिना भट्टराई प्रसाई ,राष्ट्रिय भुमि आयोग झापाका सदस्य ताराप्रसाद उपाध्यायसहितले वडाभित्र रहेका लक्षित भूमिहीनहरुलाई धनिपुर्जाको निस्सा वितरण गरेका हुन् ।
वडा भित्रमा हालसम्म दर्ताभएका १२ सय जना भूमिहीनहरुलाई निस्सा वितरण सुरु गरिएको वडाअध्यक्ष नबिन बरालले जानकारी दिए । १२ सय मध्ये ५१६ जनालाई निस्सा वितरण गर्न शुरु गरिएको भन्दै उनले वडा कार्यालयबाट निस्सा वितरणको गरिने बताए ।
निस्सा वितरण गदै नगर प्रमुख थापाले यहाँका भूमिहीनहरुलाई चाडै धनीपुर्जा दिनका लागि आवश्यक प्रक्रिया पूरा गरेर धनिपुर्जा वितरण गर्ने बताए । नगरपालिकाले दमकका १० वटै वडामा भूमिहीनहरुको लगत संकलन गरि जग्गाधनीपुर्जाको निस्सा तथा धनीपुर्जा वितरणको प्रकृया पूरा भएकालाई पुर्जा हस्तान्तरण समेत गरिदैआएको नगरपालिकाले जनाएको छ ।
यसअघि नगरपालिकाको समन्वयमा आयोगले दमक १० मा भने निस्सा वितरण गरिएका मध्ये पहिलोचरणमा २६ भूमिहीनलाई धनीपुर्जा वितरण गरिसकेको जनाएको छ ।