दोमुखा सडक कालोपत्र हुदै

माइधार ,३ फागुन । झापाको शिवसताक्षीमा रहेको पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र दोमुखा सडक करिव चालीस वर्षपछि कालो पत्र हुने भएको छ ।शिवसताक्षी नगरपालिका–१० स्थित माईधार–दोमुखा २९ सय मिटर लामो कालोपत्र हुने सडकको मंगलवार एक कार्यक्रमका बीच शिलान्यास गरिएको हो ।
कालोपत्र हुने सडकको झापा क्षेत्र न. ४ का संघीय सांसद एलपी साँवा लिम्बू शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले संयुक्त रुपमा शिलान्यास गरे ।
कालोपत्रका लागि रु ४ करोड २४ लाख ८३ हजार २४५ रकम विनियोजन गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जसमा शिवसताक्षी नगरपालिकाको रु २ करोड २४ लाख ८३ हजार २४५ रुपैयाँ र संघीय समपूरक कोषको रु २ करोड रकम रहेको छ । सडक ढलरहित ७ मिटर चौडाइ कालोपत्रे हुने छ । जसमा तीनवटा बक्स कल्भर्ट र दुई वटा ह्युमपाइप सडकमा लाग्ने उल्लेख छ ।
शिलान्यान्सका क्रममा संघीय सांसद लिम्बूले पूर्वको पर्यटकीय क्षेत्र दोमुखासम्म पुग्न कालोपत्र सडक नहुदाँ आन्तरिक पर्यटकहरुले सास्ती भोग्नु परेका र अव त्यस्तो सास्ती सधैका लागि अन्त्य हुने बताए । दोमुखासम्म पुग्ने सडक कालो पत्र हुने भएपछि अव यस ठाँउको चहलपहल बढ्ने उनको भनाई थियो ।
शिलान्यास कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले माईधार –दोमुखा सडक कालो पत्र गर्नका धेरै बाधा व्यवधानहरु व्यहोर्नु परेको भएपनि अव भने बल्ल सडक कालोपत्र बन्ने अवस्थामा पुगेको बताए ।
शिवसताक्षीको माईधारदेखि दोमुखासम्मको उक्त सडक कनकाई सिँचाई आयोजनाले बिस २०३३ सालमा निर्माण गरेको थियो । त्यस पश्चात अहिलेसम्म उक्त सडकको स्तरन्नति हुन सकेको थिएन् । करिव ४० वर्षपछि त्यस सडक कालोपत्र हुन लागेको र सडक सेल्फी रोडको रुपमा आकर्षक बन्ने नगर प्रमुख थोप्रा बताउँछन् ।
कालोपत्र गर्न सतासी निर्माण सेवाले ठेक्का पाएको र आगामी असार १५ गते भित्रमै निर्माण सम्पन्न भईसक्ने संझौतामा उल्लेख छ ।
सडक कालोपत्र बनेपछि पर्यटकीय क्षेत्र दोमुखामा आन्तरिक तथा बाह्य पर्यटकहरु थप आर्कषण बढ्ने स्थानीयको अपेक्षा छ । लामो समय पछि सडक बन्ने भएपछि स्थानीय दोमुखाबासीहरु समेत हर्षित भएको दोमुखा पर्यटन विकास समितिका अध्यक्ष धनप्रसाद लावतीेले बताए ।

Leave a Reply

Your email address will not be published.