चुलाचुली, ११ माघ । नाट्य क्षेत्रको विकासमा टेवा पुरयाँउने इलामको चुलाचुलीमा दुई दिने ‘चुलाचुली पाठशाला नाट्य उत्सव’ गरिएको छ ।चुलाचुली रंगमञ्चको दोस्रो संस्करणका रुपमा आयोजित उक्त नाट्य उत्सव बुधबार सकिएको रंगमञ्चका अध्यक्ष चेतन आङ्थुपोले बताए ।
उनका अनुसार नाट्य उत्सवमा १० वटा नाटक मञ्चन हुने छन् । लोप हुँदै गएको नेपाली मौलिक नृत्य संगिनी नाचबाट मञ्चन गरिएको थियो ।उत्सवमा ‘मेला’,‘देउकी’, ‘बाताबरण’, ‘छोरी मान्छे भएर’ र ‘ख’ नामक नाटकहरु मञ्चन गरिएका छन् ।
त्यस्तै बुधबार दमकको कदम थिएटर र सर्वोदय बोर्डिङको सहकार्यबाट पञ्चकन्या स्कूल चुलाचुली २ को नाटक ‘द बर्ड ’ , चुलाचुली ४ को पञ्चबुद्ध एकेडेमीको ‘पुर्नजीवन ’ ,चुलाचुली रंगमञ्चकै ‘यो मेरो कथा नहुन सक्छ ’ र मिक्लाजुङ नाटक घरको ‘साइड इफेक्ट ’ जस्ता नाटकहरु मञ्चन गरिएको उनले जानकारी दिए ।
बिद्यार्थीहरुको सिकाई प्रणालीलाई चौतर्फी बनाउन र चेतनाको स्तरलाई थप फराकिलो बनाउने उद्देश्यले नाट्यसहित चित्रकला कार्यशाला उत्सवको आयोजना गरिएको आङ्थुपोले बताए ।
चुलाचुली ३ मा अवस्थित शिवओरक मिलन पोखरीमा आयोजना गरिएको उक्त नाट्य उत्सवमा सयौ दर्शकहरुको उपस्थिति रहेको थियो ।‘प्रकृतिको सत्सङ्गमा जाऔं, रंगकर्ममा रमाऔं र आफू स्वयम संग सम्वाद गरौं’ भन्ने नाराको साथ आयोजना गरिएको उत्सवमा नाट्यतर्फ रंगकर्मी तथा कलाकार विजय बराल र चित्रकला कार्यशालाको सहजीकरण कलाकार किरण सिगु,बिजया लावती र आयुषा आङ्थुपोले गरेका थिए ।