दमक,११ पुस । झापा ,कमल गाउँपालिकाका किसानहरुले आफनै ठाउँबाट उत्पादित जैविक मल प्रयोग गर्न थालेका छन् ।पछिल्ला बर्ष पालिकाको कृषि शाखाले आफनै ब्राण्डको जैविक मल उत्पादन गर्न थालेपछि किसानहरु यसतर्फ आर्कषित भएका हुन् ।
रासायनिक मलको बिकल्पमा गाउँपालिका भित्रै बनेको जैविक मलको प्रयोग गरेर कृषि उत्पादनको दरलाई बढाउन पालिकाले मल वितरण कार्य निशुल्क गरिआएको छ । कृषि शाखाका प्राविधिक प्रेम पोरेलका अनुसार गाउँपालिकाले तयार गरेको यस्तो मल तरल (झोल ) प्रकृतिको छ । गाउँपालिका कार्यालयको दक्षिण तर्फको गेट प्रवेश गर्ने वित्तिकै १५ , २० थान प्लाष्टिकका ठुला ड्रम हमेसा यहाँ उत्पादित कमल झोल मलले भरिएका हुन्छन् । यो सखर र वेस्ट डी कम्पोजरको समिश्रणबाट तयार गरिएको झोल मलको ब्राण्डिङ समेत भइसकेको छ । यहाँ झोल मल मात्रै उपलब्ध छैन कमल युरिया कमल प्रांङगारिक मल कमल जिबामृत लगायत ७ प्रकारका मल बनाउने गरिएको छ ।
प्रदेश एकका किसानहरुलाई लक्षित गरेर सरकारले स्थापना गरेको कृषि अनुसन्धान केन्द्र तरहराले समेत गाउँपालिकाका कृषि प्राविधिकहरुले तयार गरेको यो कमल झोललाई गुणस्तरीय जैविक मलका रुपमा प्रमाणित गरिसकेको छ ।
केही समय अघि आफनो तोरी बालीमा यही झोल मल हालेर तोरी सप्रिएपछि पुनः मकै खेतीमा लगाउन झोल मल लिन आएका कमल २ क्याम्पा नजिकैका किसान बिष्णु अधिकारीले यहाँको कमल झोल मल लाभदायक रहेको अनुभव आफूले गरेको सुनाउछन् । अधिकारीले भने ,–‘मैंले तोरीमा यो मल लगाएपछि लाइ लागे जस्तो किराले खान थालेको पनि एकाएक हराएको देखें । यो मलले उत्पादन समेत बढाएको छ ’
गाउँपालिकाका कृषि शाखा प्रमुख महेन्द्र बोहोराले झोल मलमा किसानहरुको आकर्षण बढेको बताउछन् । उनका अनुसार गत आर्थिक बर्षमा एक लाख लिटर झोल मल किसानहरुले आफनो खेतबारीमा प्रयोग गरेका छन् । अहिले पनि दिनहुँ २०,३० जना किसानहरु झोल मल लिन आउने गर्छन् ।चालू आर्थिक बर्षको पाँच महीनामा ४० हजार लिटर हाराहारीमा यो मल खपत भइसकेको छ । कृषि शाखाले कमलका ७ वटै वडाका किसानहरुलाई लक्षित गरि पालिकाको कार्यालयसंगै कमल ६को वडा कार्यालयबाट आवश्यक अनुसार झोल मल वितरण गरिआएको छ ।
गाउँपालिकाले बिषादीरहित कृषि उपज उत्पादन गर्ने लक्ष्य राखेर क्रमशः खेतबारीमा रासायनिक मलको प्रयोग घटाउँदै जाने नीति लिएर स्थानीयस्तरमानै जैविक मल उत्पादन गर्ने कार्यक्रमनै अघि सारेको छ । त्यसका लागि पालिकाले रु ५ लाखको वजेट बिनीयोजन गरेको छ ।
कोरोना शुरु हुने बित्तिकै दुई बर्ष अघि बजारमा रासायनिक मलको हाहाकार मच्चिएपछि त झनै किसानहरु पनि सहजै रासायनिक मललाई विस्थापन गर्न तयार भए । किसानहरुको साथ सहयोग पनि रहयो । गाउँपालिकाले किसानहरुलाई मलमा आत्मनिर्भर बनाउने उपाय खोज्दै जाँदा जैविक मल (कमल झोल ) बिकल्प बन्दै गएको हो ।
तीन बर्ष अघिदेखि शुरु भएको मल उत्पादन गर्ने उपयुक्त योजनालाई पछिल्लो पटक चुनिएका जनप्रतिनिधिहरुले पनि महत्वसाथ निरन्तरता दिदै आएका छन् ।
त्यसो त गाउँपालिकाले चालू आर्थिक बर्षदेखि कृषकसंग अध्यक्ष कार्यक्रमनै ल्याएर कृषिमा आधुनिकीकरणसंगै व्यवसायिकरणको प्रयास पनि गरिरहेको छ । गाउँपालिका अध्यक्ष हुकुमसिंह राई भन्छन्– ‘कृषि पेशा एउटा सम्मानित पेशा हो भन्ने अनूभुति गाउँपालिकाबासीलाई दिलाउने गरीका कार्यक्रमहरु ल्याएका छौं ।’
सधैं मलको हाहाकार र अभावलाई झेलिरहनु परेको तितो यथार्थलाई गाउँपालिकाले नजिकबाट बुझेको र कृषिसंग सम्बन्धित पुराना पनि राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिदैं रणनीतिक रुपमानै कृषिलाई सम्बोधन गर्ने खालका नयाँ कार्यक्रमहरु समेत समावेश गर्ने योजना रहेको अध्यक्ष राईको भनाई छ ।