दमक,६ पुस । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ्गले सदियौ बर्षदेखिको परस्पर धार्मिक सद्भावनै नेपाली वीचको एकता भएको औल्याएका छन् ।ख्रीष्टमसका अवसरमा बुधबार दमकमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्दैं उनले बहुजातिय, बहुधर्मावलम्बीहरु वीचको सुमधुर एकताले राष्ट्रिय एकता मजवुत बनाएको जोड दिए ।
इसाई धर्मावलम्बीहरुको बडा चाड ख्रीष्टमसको शुभकामना दिदै प्रदेश प्रमुख खापुङ्गले भने,–‘ धार्मिक सद्भाव,संहिष्णुता कायम राख्नु हामी सबैको साझा कर्तव्य हो, यसमा सबै धर्मनुरागाीको ध्यान जानुपर्छ ’
सरकारले सवै धर्म सम्मान र विकासमा टेवा दिनुपर्ने चर्चा गदैं उनले सबै धर्म र संस्कृतिको मजवुत भए मात्र राष्ट्रियता बलियो हुने धारणा राखे ।त्यस अवसरमा उनले ज्येष्ठ ९१ बर्षिया बिष्णुमाया बस्नेत र ९३ बर्षिय प्रेम लामालाई सम्मान गरे । इसाइ समाजका आवद्ध ती दुई ज्येष्ठ नागरिकलाई दिर्घ जीवनको शुभकामनासहित सम्मान पत्रद्धारा सम्मानित गरिएको समाजका अध्यक्ष राजकुमार राईले बताए ।
कार्यक्रममा दमक नगरपालिका ७ का वडाअध्यक्ष तथा कार्यवहाक नगर प्रमुख भीम प्रसाद पौडेल, विआइसी चर्च विराटनगरका सिनियर पाष्टर डा.शेमलाल बेम्ब्रोम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।स्थानीय गोर्खा डिपार्टमेन्ट स्टोरको प्राङगणमा भएको उक्त कार्यक्रममा साँझपख सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
त्यसैगरि, कार्यक्रम पूर्व इसाई धर्मावलम्बीहरुले शान्ति रयाली निकालेका थिए । रयालीमा सहभागिहरुले विभिन्न प्लेकार्ड बोकेर दमक चौक ,वजार परिक्रमा गरेका थिए ।