दमक,१६ मंसिर । दमकमा आज विहिबारदेखि जेसीज सप्ताह शुरु भएको छ । दमक- १ स्थित दमक नगरपालिका कार्यालयमा एक कार्यक्रम गरि अघिल्ला बर्षझै यसवर्ष पनि बार्षिक कार्यक्रम अन्तर्गत जेसीज सप्ताह शुरु गरिएको हो ।
नगरपालिकाकी उपप्रमुख तथा दमक जेसीजका पूर्व अध्यक्ष रेगिना भटटराईको प्रमुख आतिथ्यतामा भएको जेसीज सप्ताह उद्घाटनमा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारी, नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकी,पूर्व अध्यक्षहरु, जेसीज सदस्य ,विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
दमक जेसीजका अध्यक्ष सञ्जीव बरालका अनुसार जेसीज सप्ताह अन्तर्गत विहिबार सप्ताह कार्यक्रम उद्घाटनसहित साईकल रयाली , नेत्र तथा दन्त शिविर र फिजीयोथेरापी सम्बन्धी सचेतना कार्यक्रम गरिएका छन् । विश्व एड्स दिवसका अवसर पारेर आयोजना गरिएको साईकल रयाली दमक १० स्थित इन्द्रेणी ताल पुगेर समापन गरिएको थियो ।
त्यसैगरि जेसीज सप्ताह अन्तर्गत भोलि शुक्रवार दमक -८ स्थित जनता माध्यमिक विद्यालयका विपन्न विद्यार्थी शैक्षिक सामाग्री हस्तान्तरण तथा विहान ११ वजे दमक बहुमुखी क्याम्पसमा प्रकरण गोष्ठी सञ्चालन गरिने अध्यक्ष बरालले बताएका छन् । त्यस्तै, शनिवार दिनको १२ वजे दमक उद्योग वाणिज्य संघको सभाहलमा अटिजम रोग सम्बन्धी सचेतना तालिम र सोहि दिन दिनको ३.३० वजे संघको सभाहलमा प्रमाणपत्र तथा पुरस्कार प्रदान गरि समापन गरिने कार्यक्रम रहेको उनले बताए ।