दमक, १६ मंसिर । पूर्वपश्चिम राजमार्गको दमक -९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाईकलको ठक्करबाट गएराति एक जनाको मृत्युभएको छ भने अर्का एक जना गंभीर घाईते भएका छन् ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार राती ९.३५ बजे तिर पश्चिमबाट पूर्व तर्फ आउदै गरेको प्र १–०१–०१६ प८९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री अन्दाजी ४० बर्षिय गोपाल राईको मृत्यु भएको हो ।
मृतक राईको तत्काल आधिकारिक ठेगाना खुलेको छैन् । मृतक इलाम जिल्लाको भएको बुझिएको छ । पैदलयात्री राईलाई दुर्घटनापछि उपचारका लागि स्थानीय निम्स हस्पिटल लगिएको र त्यहाँ उपचार संभव नभएपछि विराटनगरस्थित न्यूरो अस्पताल लगिएकोमा राती नै राईको मृत्युभएको प्रहरीले जनाएको छ ।
टिफरको ठक्करबाट बालिकाको मृत्यु
यसैगरि, हिजो विहिबार दिउँसो टिफरको ठक्करबाट भद्रपुरमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ७ स्थित मेघाटोलकी ११ वर्षीया शिल्पा ऋषिदेव रहेकी जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
भद्रपुर– ७ स्थित गार्मेटचोकबाट हल्दिबारीतर्फ गइरहेको प्र–१–००१–क–७७ नम्बरको टिफरले सोही दिशातर्फ गइरहेको साइकल यात्री बालिका ऋषिदेवलाई ठक्कर दिएको थियो ।
टिफरको ठक्करबाट गम्भीर घाइते बालिकालाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभारा हस्पिटलबाट थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटल लगिएकोमा उपचारको क्रममा दिउँसो साढे ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।