दमक,२९ कार्तिक । आगामी निर्वाचनमा बदर मतको संख्या कम गर्ने उद्देश्यले दमकमा आज जिल्ला निर्वाचन कार्यालयले नमुना मतदान गरेको छ ।मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कसरी मतदान गर्ने र बढ्दो बदर मत कम गर्ने उद्देश्यले नमूना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी कुमार नेपालले जानकारी दिए ।
ईलाका प्रशासन कार्यालय दमकका प्रमुख उमेश पाण्डेलाई प्रमुख निर्वाचन अधिकृत तोकेर स्थानीयहरुको सहभागितामा नमुना मतदान गरिएको थियो ।दमक ७ को वडा कार्यालयमा आयोजना गरिएको मतदानमा २२ जनाले सहभागिता जनाएको प्रमुख नेपालले बताए ।
नमुना मतदानमा सहभागि दमक नगरपालिकाकी उप–प्रमुख रेगिना भट्टराईले मतदाताले दिएको मत बदर हुन नदिन सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने बताईन् । उनले मतलाई बदर हुन नदिन यस्ता कृयाकलापले मद्धत गर्ने बताईन् । आफुले दिएको मत बदर नहोस भनेर मतदाता पनि सचेत बन्नु पर्ने उनले बताईन् ।नमुना मतदान गराउनु अघि मतदानमा सहभागी सबैलाई जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख नेपालले मतदाता शिक्षाका बारेमा जानकारी गराए ।
यसैगरि कमल गाउँपालिकामा पनि हिजो नमुना मतदान गरिएको छ । गाउँपालिकाको कार्यालयमा भएको मतदानमा स्थानीयहरुले सहभागिता जनाएका थिए । आसन्न निर्वाचनमा मतदान कार्यलाई थप प्रभावकारी बनाउन नमुना मतदान गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले बताए ।