चुनावमा दुई दिन सार्वजनिक विदा

झापा, २९ कार्तिक । सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायमा दुई दिन विदा दिने भएको छ ।

गृह मन्त्रालयले आज एक सूचनामार्फत् आगामी मङ्सिर ४ र ५ गते सरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा प्रकाशित उक्त सूचनामा मतदानस्थल रहेका शिक्षण संस्था वा विद्यालयमा भने मङ्सिर २ देखि ५ गतेसम्म विदा दिइएको छ ।

निर्वाचन आयोगले यसअघि नै निर्वाचनमा बढीभन्दा बढी सहभागिता रहोस् भनेर सार्वजनिक विदा दिन सरकारलाई आग्रह गरेको थियो ।यसैबीच त्रिभुवन विश्वविद्यालयले पनि आगामी मङ्सिर १ देखि ५ गतेसम्म विश्वविद्यालयका सबै क्याम्पस र कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । विश्वविद्यालयका अधिकांश क्याम्पसमा मतदान केन्द्र राखिएको छ ।

कतिपय क्याम्पसमा मतगणना केन्द्रसमेत राखिएको हुँदा विश्वविद्यालयका दैनिक काम कारबाहीमा असर पुग्ने देखिएकाले विदा दिने निर्णय गरिएको विश्वविद्यालय सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए।

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पनि मतदानका दिन आन्तरिक उडानतर्फ नियमित उडान नहुने जनाएको छ । सो कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आन्तरिकतर्फका नियमित उडान हुनेछैन । यद्यपि चार्टर उडान भने हुनेछ ।

Leave a Reply

Your email address will not be published.