दमक, २३ कात्तिक । झापा क्षेत्र नम्बर ५ प्रदेशसभा (२) का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार गगन पुरीले आदिवासी जनजातिका अधिकार र पहिचानलाई कसैले पनि खोस्न नसक्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघ झापाले झापा क्षेत्र नम्बर ५ का उम्मेद्वारहरुसंग मंगलवार कमलको पाडाजुंगीमा आयोजित ‘‘आदिवासी जनजातिका अधिकारहरूका विषयमा’’ आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै उम्मेद्वार पुरीले नागरिकको ठुलो बलिदान र संघर्ष पछि प्राप्त भएका आदिवासी जनजाति सहित पिछडिएका समुदायको अधिकार कसैले पनि खोस्न नसक्ने दावी गरे ।
यस क्षेत्रमा नेकपा एमालेले आदिबासी समुदायका पितृहरुको चिहानमाथि राजनीति गरेको भन्दै पुरीले अब कुनै पनि हालतमा त्यस्तो हुन नदिने औल्याए । कमलमा निर्माणाधिन रंगशालालाई आदिबासी रंगशालानै नामाकरण गरि काम गर्ने उनले प्रतिबद्धता जनाए । एमालेका कारण त्यहाँ आदिवासी रंगशाला लथालिंग बन्न पुगेको भन्दै उनले अब कुनै पनि हालतमा आदिबासीकै नाउँमा रंगशाला निर्माण हुने बताए ।
त्यसैगरी दमकमा निर्माण गरिएको सभाहललाई पनि फाल्गुनन्द सभाहलनै नामाकरण गरिने पुरीले बताए । त्यस्तै ,दमक रवि (चिसापानी मार्ग ) लाई पनि फाल्गुनन्द मार्ग नामांकरण गरिने उनले स्पष्ट पारे।
एमालेले जितेमा फेरी आदिबासीको पहिचान मेटिने भएकाले गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन पनि उनले आग्रह गरे । एमालेको घोषणापत्रमै मदन भण्डारी रंगशाला निर्माण गरिने भनेर लेखेको भन्दै उनले आदिवासी रंगशाला निर्माणका लागी पनि गठबन्धनले जित्नै पर्ने जिकिर गरे ।