सभागृहको नाम फेरिएकोमा आपत्ति, फाल्गुनन्द सभागृह नाम राख्न माग

दमक ,१७ कार्तिक । दमक ९ मा निर्माणाधिन फाल्गुनन्द सभागृहको नामाकरण परिवर्तन गरि दमक सभागृह राखिएको भन्दै सरोकारवालाहरुले साविकको नामनै राख्न माग गरेका छन् ।
१६औं राष्ट्रिय विभूति फाल्गुनन्दको नाममा शिलान्यास गरि निर्माणको अन्तिम चरणमा रहेको सभागृहको नाम साविककै राख्न माग गरेका हुन् ।
किरात धर्म तथा साहित्य उत्थान संघको एक टोलीले बुधबार दमक नगरपालिकाका प्रमुख रामकुमार थापालाई ज्ञापन पत्र बुझाउँदै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुनन्दको नाममा २०७३ जेठ २८ गते शिलान्यास गरेको सभागृह नाम परिवर्तन गरी दमक सभागृह बनाएको भन्दै आपत्ति जनाउदै तुरुन्त सच्याउन माग गरेको छ ।
संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमले ज्ञापन पत्र बुझाउदै सभागृहको नाम फेर्ने कार्यले राष्ट्रिय विभूति प्रति मात्र नभएर सिंगो किरात धर्मावलम्बीहरुको आस्थामाथि नै अपमान भएको भन्दै सभागृहको नामाकरण फाल्गुनन्द राख्न माग गरिएको बताए । नाम नसच्याए चरणबद्व आन्दोलनमा उत्रन बाँध्य हुने संघको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख थापाले कार्यपालिका वैठकमा कुरा राखी नाम सच्याँउन पहल गर्ने आश्वासन दिए ।
अध्यक्ष थेगिमका अनुसार शुरुमा फाल्गुनन्द सभागृह नामाकरण गरेर पुनः एमालेको सरकार भएको वेला दमक सभागृह नामाकरण गरिएको थियो । निर्माणको अन्तिम चरणमा रहेको प्रदेशकै सवैभन्दा ठुलो सभागृह मानिएको उक्त सभागृहमा करिव रु ३० करोड लगानी पुगेको वताइएको छ ।
सभाहल सञ्चालनको तयारीमा
निर्माणको अन्तिम चरणमा रहेको दमक सभाहल सञ्चालनको तयारी गरिएको छ । दमक नगरपालिकाले सञ्चालन गर्ने उक्त सभागृह नियमित सञ्चालन गर्नका लागि आवश्यक तयारी भईरहेको जनाएको छ ।
नगरपालिका अनुुसार सभागृहको भवन निर्माणको काम सम्पन्न भएपनि यसका आन्तरिक सागसज्जा र विद्युत,पानी बत्ती जडान गर्ने लगायतका काम धमाधम भइरहेका छन् ।
सभाहल देशकै नमुनाको रूपमा रहेको उक्त सभागृह वातावरणीय अनकूलित सिस्टम जडान गरिएको छ । चारवटा ब्लकलाई जोडेर निर्माण गरिएको सभाहलमा १५ सय अट्ने क्षमताको एक सभाहल हल छ भने सानो २ सय ५० जना अटाउने क्षमताको थपहल रहेको जनाइएको छ । त्यस्तै हल भित्र नै भव्य रेस्टुरेन्ट समेत रहने छ ।
सभागृहमा स्थायी रूपमा डिजिटल साउण्ड सिस्टम जडान गरिएको छ । त्यस्तै पुल साउण्ड प्रुफ हुने छ । दमक सभाहल भवन निर्माणमा रु २८ करोड ४० लाख ५८ हजार ८ सय ८८ रुपैयाँ लगानी रहेको सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामले जनाएको छ ।
एक बिगाहा क्षेत्रफलमा घेरावारा गरिएपनि सभागृह भवन करिव ८ कठ्ठा जमीनमा निर्माण सम्पन्न भएको इन्जिनियर महासेक चौधरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.