बेलबारी,१६ कार्तिक । सिरहाको सहलेस युथ क्लब पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
मोरङको बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गमा बुधबार पाहुना टोली भारतको एमएम एफ सी वेष्ट बंगाललाई ३-१ गोल अन्तरले स्तब्ध बनाउँदै सिरहाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
आत्मघाती गोलमार्फत लिएको सुरुवाती अग्रतालाई जोगाउन नसक्दा भारत निराश बनेर पहिलो खेलबाटै बाहिरियो। भारतले आत्मघाती गोलको उपहारमार्फत ३०औँ मिनेटमै खाता खोलेको थियो।
भारतका सत्यम शर्माले गरेको प्रहारलाई खेलाडीले क्लियर गर्न नसक्दा बलले आफ्नै पोस्ट चुमेपछि सिरहा दबाबमा परेको थियो। ४०-४० मिनेटको खेलको पहिलो हाफ १-० गोल अन्तरमा सकियो।
सिरहाका लागि ३ वटै गोल मध्यान्तरपछि मात्रै सम्भव भयो। विदेश खेलाडी फोडे फोफोनाले ४१औँ मिनेटमा गरेको गोलमार्फत सिरहा खेलमा फर्कियो। उनले दर्शनीय गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्याएका हुन्।४७औँ मिनेटमा सिरहाका दिनेश हेन्जनले खेललाई २-१ को अवस्थामा पुर्याए। फ्रिकिकबाट रिबाउण्ड भएको बललाई उनले पोष्टको दिशा दिँदा सिरहा अघि बढ्यो।
सिरहाका फोडे फोफोनाले ७८औँ मिनेटमा टिमको जित निश्चित गराए। वेष्ट बंगालका समीर प्रधानले फउल गरेपछि पाएको फ्रिकिकलाई उनले सदुपयोग गर्दा सिरहा ३-१ अन्तरले विजयी बनेको हो। खेलमा २ गोल गरेका फोडे म्यान अफ दी म्याच घोषित भए। बिहीबार झापाको रोलिङ क्लब धुलाबारी र आयोजक डाँगीहाट युथ क्लबबीच प्रतिस्पर्धा हुने छ।