हिले, ८ कात्तिक । धनकुटा नगरपालिका भित्र मात्रै बसोबास रहेको आठपहरिया जातीको कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले निर्माण कार्य सुरु भएको संग्रहालय बजेट अभावका कारण अलपत्र बनेको छ ।
धनकुटा नगरपालिका –५ बिहीबारे हटिया छेउमा २०७७ सालबाट आठपहरिया जातिको संस्कार संस्कृति, बाजागाजा र पोसाक संरक्षण–प्रवर्धनका लागि सङ्ग्रहालय बनाउन सुरु गरिएको थियो । तर, अहिले पहिलो तलामा केही निर्माण गरेपछि थप काम नहुँदा संरचना लथालिङ्ग अवस्थामा रहेका छन् । यो सङ्ग्रहालयको निर्माण सम्पन्न भए धनकुटामा मात्रै बसोबास रहेको आठपहरिया जातिको प्रवद्र्धन हुने निर्माण समितिका संयोजक कोमल आठपहरियाले बताए । “पहिले अलिअलि पैसा आयो र सुरु गरियो तर अहिले पैसा आउन छोड्यो अलपत्र भयो” आठपहरिया भन्छन् ।
२०७७ सालमा सङ्घीय सरकारको ५० लाख रुपैयाँको सहयोगमा धनकुटा नगरपालिकाले डिपिआर तयार गरी काम सुरु गरेको थियो । २०७८ सालमा १० लाख मात्र छुट्यो । चालु आर्थिक वर्षमा भने सो भवनको लागि कुनै पनि योजना पर्न सकेन । जसका कारण योजना अलपत्र बनेको छ ।
विभिन्न सरकार परिवर्तनको असर तथा एउटा सरकारले अर्को सरकारले गदै आएको कामलाई निरन्तरता नदिँदाको आठपहरिया जातिको निर्माणाधीन सङ्ग्रहालयमा परको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ बताउँछन् । “नगरको बजेटले पुग्दैन सङ्घ र प्रदेश सँग माग गरेको निरन्तरको सरकार परिवर्तनले गर्दा बजेट पार्नै मुस्किल छ” मेयर तामाङ बताउँछन् ।
करिब ५ हजारको हाराहारी मात्र जनसङ्ख्या रहेको आठपहरिया जाति धनकुटामा मात्र बसोबास गर्ने एक मात्र जाती हो । आधुनिकताका कारण पछिल्लो समय जातजातिको पहिचान झल्काउने संस्कृति, पोसाक लोप हुँदै गइरहेका जानकारहरू बताउँछन् । यस्तो अवस्थामा धनकुटामा नगरपालिकामा मात्रै बसोबास रहेको आठपहरिया सङ्ग्रहालय निर्माण हुन सके संस्कृति संरक्षणमा थप मद्दत पुग्ने छ । यसले आठपहरिया जातीको कला संस्कृति जोगाउने मात्र नभई पर्यटन प्रवद्र्धनमा समेत सहयोग गर्ने भएकाले चाँडो निर्माण गर्न स्थानीयको माग छ ।