विराटनगर,५ कार्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको बलिदानबाट प्राप्त संविधान रक्षा गर्न गठबन्धन बनेको बताएका छन् । विराटनगरमा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले सबै वर्ग र क्षेत्रको अधिकार सुनिश्चित गर्ने समावेशी संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको प्रष्ट पारे ।
आसन्न निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले भने, “विकास र परिवर्तनका निम्ति यो गठबन्धनका उम्मेदवार विजयी हुनुपर्छ ।” रुख, कलम र गोलाकार भित्रको हँसिया हथांैडा चिह्नमा भोट हाल्न कार्यकर्तामा अन्योलता आउन नहुने बताउँदै उनले गठबन्धनमा उम्मेदवारलाई अत्यधिक भोट हालेर जिताउन अपिल गरे ।
नेकपा (माओवादी केन्द्र ) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले निर्वाचन सामान्य प्रक्रिया भए पनि यो निर्वाचन खास उद्देश्यका लागि भएको बताए । विशेष परिस्थितिमा आन्दोलनको बीचबाट जन्मेको गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने भन्दै अध्यक्ष दाहालले बृहत शान्ति सम्झौताबाट नै मुलुकमा युगान्तकारी परिवर्तन आएको र यही परिवर्तनलाई निमोठ्न खोज्ने प्रवृतिका विरुद्धमा गठबन्धन बनेको धारणा राखे ।
शान्ति सम्झौताको निरन्तरताकै रुपमा गठबन्धन अगाडि बढेको बताउँदै अध्यक्ष दाहालले आसन्न निर्वाचनमा गठबन्धनमा उम्मेदवारलाई जिताउन कार्यकर्ता एवं नेतालाई निर्देशन दिए । गर्वका साथ एकले अर्कालाई खुशीसाथ मत खसाल्न आग्रह गर्दै उनले भने , “समृद्धि र सुशासनका लागि पनि गठबन्धनले जित्नुपर्छ ।”
नेकपा (एकीकृत समाजवादी पार्टी ) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गलत मानिसको हातबाट नेतृत्व खोस्न गठबन्धन बनेको बताए । उहाँले भन्नुभयो, “गठबन्धनको एकता र ऐक्यबद्धता नै हाम्रो सङ्कल्प हो ।” राजनीति सही मार्गमा गए मात्र समाजका समस्या समाधान हुने विश्वास व्यक्त गर्दै उनले भने , “गठबन्धन नबनेको भए एकलौटी सरकार चलाउने आधारलाई भत्काउन सकिने अवस्था थिएन ।” स्वाभिमानका पाठ कार्यकर्ता र जनतालाई सिकाएर राम्रो उद्देश्य तथा सपनालाई साकार पार्न गबन्धनका उम्मेदवार जित्नुपर्ने बताउँदै अध्यक्ष नेपालले लोकतन्त्र र संविधानलाई धराप पर्न नदिन गठबन्धन निर्वाचित हुनुपर्ने बताए ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन गठबन्धन निर्माण भएको बताए । उनले नेपाली जनतालाई बलियो बनाउन र अर्थतन्त्रलाई सुदृढ तुल्याउन गठबन्धनका उम्मेदवार जित्नुपर्ने विचार व्यक्त गरे । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले “संविधानको सही कार्यान्वयनका निम्ति राजनीतिक दलबीच एकता र सहकार्य अपरिहार्य छ” भने ।
कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संविधानलाई सही मार्गमा लैजान, असल शासन, लोकतन्त्र एवं समुन्नत समाज निर्माण गर्न गठबन्धन आवश्यक रहेको चर्चा गरे । कांग्रेस प्रदेश नं १ समितिका सभापति उद्धव थापाको सभापतित्वमा भएको सो कार्यक्रममा एकीकृत समाजवादी पार्टी प्रदेश नं १ समितिका अध्यक्ष बलदेव चौधरीले पनि गठबन्धनको महत्वमाथि प्रकाश पारेका थिए ।