झापा ,२ कार्तिक। नेकपा (एमाले )का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित झापाका १४ उमेदवारले आफूलाई मत हाल्न पाउने छैनन् । मतदाता नामावली रहेको क्षेत्रबाट मात्र मतदान गर्न पाउने व्यवस्था गरिएकाले ती उमेदवार आफूलाई भोट हाल्ने अधिकारबाट वञ्चित भएका हुन् ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता नामावली रहे बाहेकका क्षेत्रबाट उमदेवार बनेकाहरूले आफूलाई मतदान गर्न नपाउने बताए ।
झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार बनेका एमाले अध्यक्ष ओलीको मतदाता नामावली भक्तपुर क्षेत्र नम्बर–२ मा छ । ओलीले आफूलाई मत पाउँदैनन् ।
झापा–१ बाट प्रतिनिधिसभा सदस्यको उमेदवार बनेका एमालेकै अग्निप्रसाद खरेलले पनि आफूलाई मत हाल्न पाउने छैनन् । उनको मतदाता नामावली झापा–२ मा छ ।
प्रतिनिधिसभातर्फ झापा–३ बाट उमेदवारी दिएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पनि आफूलाई मतदान गर्न पाउँदैनन् । उनको मतदाता नामावली झापा–१ मा छ ।
यस्तै, ओलीको क्षेत्र अर्थात् झापा–५ बाट स्वतन्त्र रूपमा उमेदवारी दिएका युग पाठकले पनि आफूलाई मत हाल्न पाउने छैनन् । उनको मतदाता नामावली काठमाडौं–७ मा छ ।
प्रतिनिधिसभातर्फ झापा–२ बाट उमेदवारी दिएका मंगोल नेसनलका अक्कलबहादुर तामाङ, झापा–२ बाटै उमेदवारी दिएका नेपाल मजदुर किसान पार्टीका महेन्द्र खायामली, झापा–५ बाट उमेदवारी दिएका पिपुल्स पार्टीका राजन चुडाल पनि आफूलाई मत हाल्नबाट वञ्चित छन् । तामाङको मतदाता नामावली झापा–१ मा छ । खायामलीको मतदाता नामावली भक्तपुर–१ मा छ । चुडालको मतदाता नामावली झापा–२ मा छ ।
प्रतिनिधिसभातर्फ झापा–२ बाट उमेदवार बनेका जनता समाजवादी पार्टी -जसपाका रामसुफल कामतीको मतदाता नामावली झापा–१ मा छ । झापा–२ बाट उमेदवारी दिएकी राष्ट्रिय मञ्चकी रेश्मा चेम्जोङको मतदाता नामावली झापा–५ मा छ ।
प्रतिनिधिसभातर्फ झापा–२ बाट उमेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टी -लोसपाका जीवनारायण राजवंशीले पनि आफूलाई मतदान गर्न पाउने छैनन् । उनको मतदाता नामावली झापा–४ मा छ । झापा–२ बाटै स्वतन्त्र उमेदवार रहेका राजकुमार लामाको मतदाता नामावली काठमाडौंमा छ ।
प्रतिनिधिसभातर्फ झापा–३ बाट उमेदवार बनेका नेमकिपाका कृष्णगोपाल छुस्यावागको मतदाता नामावली भक्तपुर–१ मा, सोही क्षेत्रबाट उमेदवार बनेका जनमुक्तिका गजेन्द्र लिम्बूको मतदाता नामावली ताप्लेजुङमा, सोही क्षेत्रबाट उमेदवार बनेका जनमुक्तिकै मनोरथ राजवंशीको मतदाता नामावली झापा–२ मा छ ।
झापा–३ बाटै उमेदवारी दिएका मंगोल नेसनलका श्यामबहादुर लिम्बू, झापा–४ बाट उमेदवारी दिएका नेपाल मजदुर किसान पार्टीका विक्रम कासिछवाले, सोही क्षेत्रबाट उमेदवारी दिएका मंगोल नेसनल अर्गनाइजेसनका दिलीप धिमालले पनि आफूलाई मत हाल्न पाउँदैनन् । लिम्बूको मतदाता नामावली झापा–१ मा छ । कासिछवालेको मतदाता नामावली भक्तपुर–१ मा छ । धिमालको मतदाता नामावली झापा–१ मा छ ।
झापा–४ बाट स्वतन्त्र रूपमा उमेदवारी दिएका नन्दराज राईले पनि आफूलाई मतदान गर्न पाउने छैनन् । उनको मतदाता नामावली सुनसरी–४ मा छ ।पाँच निर्वाचन क्षेत्र रहेको झापामा १९२ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।