झापा, ३० असोज । लिम्बू याक्थुङ आदिवासीहरूको साझा प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ (कियाचु )ले आगामी मंसिर ४ गते हुने संघीय तह तथा प्रदेश तहको निर्वाचनमा पार्टी र जातिभन्दा माथि उठेर मतदान गर्न अपिल गरेको छ । चुम्लुङले उठाएका एजेन्डाहरूमा सहमत तथा अडान लिन सक्ने उम्मेदवारलाई जिताउन संस्थाको तर्फबाट अपिल गरिएको हो ।
उम्मेदवारहरूलाई आ–आफ्नै निर्वाचन क्षेत्रमा हाम्रो सवाल र मुद्दाहरूमा सहमत, प्रतिबद्ध र एजेन्डाका पक्षधरहरूलाई पार्टी र जातिभन्दा माथि उठेर मतदान गर्न कियाचुले विज्ञप्तिमार्फत अपिल गरेको हो ।
कियाचुले संखुवा खोला–अरूण–सप्तकोसी नदी पूर्व ९ जिल्ला ‘लिम्बुवान स्वायत्त राज्य’ स्थापना गर्ने लक्ष्यसहित अरूण–सप्तकोसी पूर्व र पश्चिमको दुवै क्षेत्र १४ जिल्लाको भूगोलमा १ न.प्रदेशको नाम ‘लिम्बुवान, किरात’ नामकरण गरिनु पर्ने, लिम्बु याक्थुङ भाषालाई सरकारी कामकाजको भाषा निर्माणका लागि प्रदेश न.१ मा प्रकृयामा रहेको मस्यौदा विधेयक अविलम्ब पास गरी तदारुकताका साथ कार्यान्वयन गरिनु पर्ने लगायतका आफ्ना मागहरु चुम्लुङले उल्लेख गरेको छ ।
यसका अतिरिक्त चुम्लुङले ‘लिम्बु याक्थुङ भाषा पठन पाठनमा शिक्षक दरबन्दी कायम गरिनु पर्ने, सरकारी कार्यालयहरूमा किरात सिरिजंगा लिपि र लिम्बु याक्थुङ भाषामा बोर्ड राखिनु पर्ने, हिन्दू धर्म समान अरू धार्मिक सांस्कृतिक समुदायलाई सरकारी बिदा उपलब्ध गराइनु पर्ने, ऐतिहासिक, सांस्कृतिक, धार्मिक, मुन्धुमी स्थालहरू, माङगेन्ना यकहरू र समाधिस्थलहरूको संरक्षण गर्ने नीति तथा निर्देशिका जारी गरिनु पर्ने, लिम्बुवान क्षेत्रका स्थानीय स्थान नामहरू लिम्बु याक्थुङ भाषामा नामकरण गरिनु पर्ने, खस नेपालीकरण र संस्कृतकरण गरिएका स्थान नामहरू लिम्बु याक्थुङ भाषाका पुराना नाममै पुनस्र्थापना गरिनु पर्ने’ मागहरु उठाएको छ ।
मतदान गर्नुपूर्व राजनैतिक दल, गठबन्धन, उम्मेदवारहरूको घोषणापत्रहरूमा चुम्लुङले उठाएका एजेन्डाहरू समावेश भए नभएको अध्ययन गर्न जरुरी रहेको पनि अपिलमा जनाइएको छ ।