एमाले झापाले टुंगो लगायो उम्मेदवार, राप्रपालाई संघको १, प्रदेशको २ सिट


झापा, २१ असोज । नेकपा एमाले झापाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासँग चुनावी तालमेल गर्ने निर्णय अनुसार एमालेले प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ १ क्षेत्र छाड्ने भएको छ।

सिट बाँडफाँट मिलेसँगै एमालेले उम्मेदवार समेत टुंगो लगाएको एमालेका एक नेताले जानकारी दिए। ती नेताका अनुसार झापा–३ एमालेले राप्रपालाई छाड्ने भएको छ।

एमाले स्रोतका अनुसार झापा क्षेत्र नं ५ मा अध्यक्ष केपी शर्मा ओली, ४ मा लालप्रसाद (एलपी ) साँवा लिम्बू, २ मा स्थायी कमिटी सदस्य देवराज घिमिरे र १ मा स्थायी कमिटी सदस्य अग्नि खरेलको उम्मेदवारी रहने भएको छ। खरेल यसअघि २ बाट उमेदवार बन्ने इच्छा राख्दैआएका थिए। क्षेत्र नं १ मा पार्टी केन्द्रले स्थायी कमिटी सदस्य खरेललाई अघि सार्ने निर्णय गरेको हो।

क्षेत्र नं २ बाट सिफारिसमा परेका खरेललाई पार्टीको आवश्यकता र विपक्षीलाई टक्कर दिन सक्ने उम्मेदवारका रुपमा अघि बढाइएको एमाले नेता हिक्मत कार्कीले बताए। यस्तै , झापा–३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको उम्मेदवारी हुनेछ। त्यहाँ एमाले केन्द्रीय सदस्य समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईले उम्मेदवार वन्ने इच्छा राखेका थिए । तर, राप्रपासंगको तालमेलका कारण क्षेत्र न. ३ मा राप्रपालाई साथ सघाँउने निर्णय भएको बतार्ईएको छ ।

प्रदेशमा यी हुन एमालेका उमेदवार
एमालेले राप्रपलाई झापाका २ प्रदेश सभा छाडेको छ। प्रदेशतर्फ क्षेत्र नं ५ का दुई क्षेत्रमा स्थायी कमिटी सदस्य प्रदेश क मा हिक्मत कार्की र ख मा प्रदेश सदस्य होमबहादुर थापा उम्मेदवार बनाउने भएको छ।

क्षेत्र नं ४ क बाट एमालेका राधाकृष्ण खनाललाई उम्मेदवार बनाउने छ। त्यस्तै, यो क्षेत्रको (ख ) राप्रपाले पाउने भएको छ। क्षेत्र नं ३ ख मा केन्द्रीय सदस्य हरि राजवंशी र क मा प्रदेश सदस्य एवं निवर्तमान प्रदेश सांसद बसन्त बानियाँ उम्मेदवार हुनेछन्। क्षेत्र नं २ मा प्रदेश सचिव चिन्तन पाठक र प्रदेश सदस्य एवं निवर्तमान साँसद एकराज कार्की दोहोरिने छन्। क्षेत्र नं १ को एउटा क्षेत्र राप्रपालाई छोडेर अर्को क्षेत्रमा एमाले केन्द्रीय सदस्य रविन कोइरालालाई उम्मेदवार बनाउने तयारी छ।

Leave a Reply

Your email address will not be published.