झापा,२१ भदौं ।नेपाल पत्रकार महासंघले झापाका पत्रकार राजु पौडेल र नारायण अर्यालविरुद्ध मेडिकल सञ्चालक दुर्गा प्रसाईंले लगाएको आरोपविरुद्ध विज्ञप्ति निकाल्दै गालीगलोज र लाञ्छना गराउने काम बन्द गर्न आग्रह गरेको छ ।
पत्रकार महासंघ झापा शाखाका सदस्य एवम् ग्यालेक्सी फोर के टेलिभिजन प्रदेश १ का ब्युरो प्रमुख राजु पौडेल र झापा संवाददाता नारायण अर्याललाई बीएण्डसी अस्पतालका सञ्चालक प्रसाईंले विभिन्न सञ्चारमाध्यम र युट्युव च्यानलमा अन्तरवार्ता दिने क्रममा पत्रकारद्वयलाई अपमानित हुने किसिमले लाञ्छना लगाएको भन्दै पत्रकारविरुद्ध जथाभावी अभिव्यक्ति नदिन महासंघले सचेत गराएको छ ।
पत्रकार महासंघका महासचिव रोशन पुरीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि बहानामा पत्रकारलाई अपमानित हुने कार्य हुनु प्रेस स्वतन्त्रता विरोधी काम भएको उल्लेख गरिएको छ । महासंघ अस्पताल जस्तो संवेदनशील निकायका सञ्चालकबाट यस किसिमका कार्य हुनु दुःखद् र निन्दनीय काम भएको महासंघले ठहर गरेको छ । महासंघले संविधानले सो निश्चित गरेको पत्रकारको अधिकारको सम्मान गरी यस्ता घटना नदोहोर्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएको छ ।
यसैबीच नेपाल पत्रकार महासंघ कालीकोट शाखाका पूर्व अध्यक्ष कालीबहादुर मल्ललाई समाचारको विषयलाई लिएर नेकपा एमाले कालीकोटका कार्यालय सचिव दानबहादुर शाहीले भौतिक कारवाहीे धम्की दिएको प्रति महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।
यसैबीच झापाका पत्रकारद्वय राजु पौडेल र नारायण अर्यालविरुद्ध मेडिकल सञ्चालक प्रसाईंले लगाएको आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै गोर्खा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित ग्यालेक्सी फोर के टेलिभिजनले विज्ञप्ति निकालेको छ ।
समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिल मार्फत उपचार खोज्न सक्ने कानूनी प्रावधान हुँदाहुँदै पत्रकारको मानमर्दन र चरित्र हत्याको दुस्प्रयास गरेको भन्दै टेलिभिजनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
ग्यालेक्सी फोर के टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत टीकाराम राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रसाईंले लगाएका आरोपहरुको छानविन गरी सम्बन्धित निकायमा कारवाही सिफारिस गर्न प्रेस काउन्सिल र पत्रकार महासंघसँग आग्रह समेत गरेको छ ।
मेडिकल सञ्चालक प्रसाईले आफू अनुकूलको समाचार प्रकाशन नभएपछि पत्रकार माथि विभिन्न समयमा लाञ्छना र चरित्र हत्या गर्ने क्रम जारी राखेका छन् । उनले आफूविरुद्धका समाचार प्रकाशन गरेमा त्यससँग सम्बन्धी पत्रकारविरुद्ध विभिन्न लाञ्छना र आरोपहरु लगाउने गरेका छन् ।