दमक, १८ भदौं । दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १३औं चुनावी साधारण सभाले संस्थाको सञ्चालक समिति निर्विरोध चयन भएको छ ।
संस्थाले इकाईगत रूपमा सम्पन्न गरेको १३औं साधारण सभाको माइन्युट एकीकृत तथा प्रमाणितसहितको समापन कार्यक्रममा सञ्चालक समितिको घोषणा गरिएको हो ।
जस अनुसार संस्थाको सञ्चालक समितिको अध्यक्षमा बुद्धिसागर बराल ( बिमल) सर्वसम्मत चयन भएका छन् । सञ्चालक समितिको सचिवमा सञ्जिव रिमाल, कोषाध्यक्षमा चन्द्रमाया निरौला ( जमुना), सदस्यमा दिनेश अधिकारी, अशोक सुवेदी र राजेन्द्र श्रेष्ठ चयन भएका छन । त्यसैगरी लेखा समिति संयोजकमा गायत्री प्रसाद पराजुली, गंगा पौडेल र अविचन्द्र प्रसाइँ चुनिएका निर्वाचन समिति संयोजक डिल्ली दाहालले जानकारी दिए ।
संस्थाका अध्यक्ष रवि केसी न्यौपानेले लगातार १२ बर्ष सम्म संस्थालाई नेतृत्व प्रदान गरे । न्यौपानेको सभापतित्वमा भएको साधारण सभा समापनका अवसरमा सञ्चारका माध्यमबाट सहकारी क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै पत्रकार गिरिराज भटटराईलाई नगद १० हजार रुपैयाँ राशीको पुरस्कारसहित सम्मान गरियो ।
सोही अवसरमा संस्थाले बर्षेनी प्रदान गर्दै आएको हिरो अफ द स्वर्णको उपाधि यसपटक संस्थामा कार्यरत भगिरथ अधिकारी (ध्रुव)लाई प्रदान गरियो भने अन्य उत्कृष्ट कर्मचारीहरुलाई पनि पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा कमल गडतौला, रुपेश खतिवडा, सुरज घिमिरे, न्युसन तामागं र विनोद घिमिरे रहेका छन । सो अवसरमा संस्थाकी पूर्व सञ्चालक राधिका अधिकारीलाई पनि सम्मान गरिएको थियो ।
संस्थाले उर्लाबारी, सुरुगां, झिलझिले, गौरादह लगायतका सेवा केन्द्रहरुबाट समेत कार्यसम्पादन तथा मुल्यांकनका आधारमा उत्कृष्ट छनोट गरेर सो पुरस्कार प्रदान गरेको हो । सोही अवसरमा कक्षा १२ मा उत्कृष्ट ग्रेड ल्याएर उत्तिर्ण हुने संस्थाका अनिसा पराजुली र रोनिस भुजेललाई पनि पुरस्कृत गरिएको संस्थाका कार्यकारी प्रमुख कमल घिमिरेले जानकारी दिए ।
जिल्ला सहकारी संघ झापाका अध्यष गणेश ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष न्यौपानेले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समिति संयोजक शिवप्रसाद अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँ, मेची सहकारीका अध्यक्ष नारायण भटटराई, सहकारी अभियानमा क्रियाशील घनश्याम अधिकारी, तुलाराम न्यौपाने लगायतले सहकारी क्षेत्रलाई बदनाम गराउने उद्धेश्यबाट दृश्य अदृश्य रुपमा विभिन्न तत्वहरु लागिपरेको भएपनि शेयर सदस्यहरुको सुझबुझ र विवेकले त्यसलाई परास्त गरिरहेको बताए ।