झापा, १६ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूको बिहीबार बसेको बैठकले शर्माको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।शर्मा २०७४ को चुनावमा त्तत्कालीन नेकपाका उम्मेदवार राम कार्कीसँग पराजित भएका थिए ।
बुढाथोकी कार्यकर्ता भेटघाटमा व्यस्त
झापा क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका संभावित उम्मेदवार केशवकुमार बुढाथोकीले कार्यकर्ता भेटघाटलाई तीब्रता दिएका छन् ।विगत ४ दिनदेखि झापामा रहेका कांग्रेस केन्द्रीय सदस्य बुढाथोकीले मतदाता र कार्यकताको राय लिन थालेका हुन् । अर्जुनधारा शनिश्चरे निवासी बुढाथोकीले आफूले घर आएर भेटघाटलाई तीब्रता दिएकोे बताए ‘घुम्न शुरु गरेको छु’ उनले भने‘ अस्तिदेखि कुदेको कुद्यै छु ।’
केन्द्रीय सदस्य भएकाले टिकट पाउने आफ्नो बलियो संभावना रहेको उनले बताए । ‘टिकट वितरणको प्रक्रिया छ, त्योसंगै गठबन्धनभित्र कांग्रेसले यो क्षेत्र छोड्छ कि छोड्दैन त्यसमा भर पर्छ’ उनले भने‘ टिकट पाइयो भने चुनावमा भिड्ने हो ।’ एमालेबाट उठ्न लागेका संभावित उम्मेदवारहरु अग्नि खरेल वा देवराज घिमिरेलाई बुढाथोकीले मात्र टक्कर दिन सक्ने पार्टीको ठहर छ । पञ्चायतकालमै सांसद भइसकेका बुढाथोकी त्यसयता पनि सांसद र मन्त्री बनिसकेका छन् ।