लखनपुरमा प्रादेशिक आयुर्वेद अस्पतालको उद्घाटन


दमक,१५ भदौं । प्रदेश १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादवले आज झापाको कमल गाउँपालिका वडा न. ६ लखनपुरमा निर्मित प्रादेशिक आयुर्वेद अस्पतालको उद्घाटन गरेका छन् ।
करिव एक बर्ष अघि निर्माण पूरा भएको अस्पतालको उद्घाटन गर्दे उनले अव प्रदेशभरिका जनताले गुणस्तरिय आयुर्वेद स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे । आयुर्वेद चिकित्सा सेवालाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले सदैव सहयोग पुरयाँउने उनले जोड दिए ।
अस्पताल उद्घाटन समारोहमा बोल्दै प्रदेश सरकारका कृषि मन्त्री झलकसिंह दर्लामी मगरले आयुर्वेदिक चिकित्सासम्बन्धी स्वास्थ्य सेवा पु¥याउन उद्देश्यले स्थापना गरिएको यस प्रादेशिक अस्पताल कमलबासीका लागि नै गौरव भएको उल्लेख गरे ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई लगायतले आयुर्वेद चिकित्सा पद्धतितर्फ जनताको विस्तारै आर्कषण बढ्दै गएको र त्यसको विकासमा प्रदेश सरकारले सहयोग पुरयाँउन आग्रह गरे ।
अस्पतालका निमित्त कार्यालय प्रमुख डाक्टर अनिल कुमार यादवका अनुसार प्रादेशिक आयुर्वेद अस्पताल निर्माण गर्न संघीय सरकारको रु २० करोड ६३ लाख रुपैयाँको लगानी छ । तीन तले उक्त भवन गत २०७८ असार २५ मा नै निर्माण पूरा भएको थियो ।
अस्पताल निर्माणका लागि त्यहाँका स्थानीय मणिकुमार भण्डारी लगायत छ जना दाताले लाखौ मूल्य पर्ने दुई विगाहा १ धुर जमिन निशुल्क उपलव्ध गराएका थिए । कार्यक्रममा जग्गादाता भण्डारीसहितका दाताहरुलाई समेत सम्मान गरिएको थियो ।
अस्पतालको त्तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल भदौ ७ गते भवनको शिलान्यास गरेका थिए । आयुर्वेदिक चिकित्सा सम्बन्धीको मेडिकल कलेज बनाउने गरी भवनको आवश्यक संरचना बनाइएको तथा आयुर्वेदिक उपचारसंगै दक्ष बैद्य यहीँबाट उत्पादन गर्ने लक्ष्य छ । छुट्टै बहिरङ्ग कक्षदेखि आयुर्वेदिक पद्धतिबाटै एक्स–रे, सघन उपचार कक्ष, एन आइसियू जस्ता आवश्यक कक्षहरु पनि बनाइएको छ । सबै वार्डहरु फराकिला छन् भने यहाँ योगा हलको पनि छुट्टै प्रबन्ध गरिएको छ । सोहि अस्पतालबाट नै प्रसुति सेवा पनि उपलव्ध गराउन सकियोस भनेर त्यस सम्बन्धीको कक्षपनि निर्माण गरिएको डा. यादवले जानकारी दिए ।
आयुर्वेद अस्पताल सञ्चालनमा आउने भएपछि त्यस आसपासका नागरिकमा उत्साह बढेको अस्पताल भवन रेखदेख समितिका संयोजक समेत रहेका जग्गादाता भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published.