दमक,१४ भदौं । झापाको कमल गाउँपालिका वडा न. ६ गेउरियामा निर्मित प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनमा आउने भएको छ । करिव एक बर्ष अघि निर्माण पूरा भएको अस्पतालको भोलि बुधबार ११वजे प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्र कुमार राईले उद्घाटन गर्ने भएका छन् । अस्पताल उद्घाटनको आवश्यक तयारी सकिएको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले जानकारी दिए ।
उनका अनुसार आयुर्वेदिक चिकित्सा उपचार सेवालाई थप प्रभावकारी बनाउन सरकारले त्यहाँ तीन तले सुविधासम्पन्न अस्पताल निर्माण गरेको हो । अस्पतालले सवै किसिमका विरामीलाई उपचार गर्न सकिने गरि पूर्वाधार लगायतका संरचना समेत निर्माण गरिएको अस्पतालका निमित्त कार्यालय प्रमुख डाक्टर अनिल कुमार यादवले बताए ।
अस्पताल निर्माणका लागि त्यहाँका स्थानीय मणिकुमार भण्डारी लगायत छ जना दाताले दुई विगाहा बढी जमिन निशुल्क उपलव्ध गराएका थिए ।
आयुर्वेदिक चिकित्सासम्बन्धी स्वास्थ्य सेवा पु¥याउन उद्देश्यले स्थापना गरिएको प्रादेशिक अस्पताल संघीय सरकारको रु २० करोड ६३ लाख रुपैयाँको लागतमा सुविधासम्पन्न भवन निर्माण भएको हो । भवन २०७८ असार २५ मा निर्माण पूरा भएको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल भदौ ७ गते भवनको शिलान्यास गरेका थिए । आयुर्वेदिक चिकित्सा सम्बन्धीको मेडिकल कलेज बनाउने गरी भवनको आवश्यक संरचना बनाइएको तथा आयुर्वेदिक उपचारसंगै दक्ष बैद्य यहीँबाट उत्पादन गर्ने लक्ष्य छ । छुट्टै बहिरङ्ग कक्षदेखि आयुर्वेदिक पद्धतिबाटै एक्स–रे, सघन उपचार कक्ष, एन आइसियू जस्ता आवश्यक कक्षहरु पनि बनाइएको छ । सबै वार्डहरु फराकिला छन् भने यहाँ योगा हलको पनि छुट्टै प्रबन्ध गरिएको छ । सोहि अस्पतालबाट नै प्रसुति सेवा पनि उपलव्ध गराउन सकियोस भनेर त्यस सम्बन्धीको कक्षपनि निर्माण गरिएको छ ।
आयुर्वेद अस्पताल सञ्चालनमा आउने भएपछि यस आसपासका नागरिकमा उत्साह बढेको गठित भवन रेखदेख समितिका संयोजक समेत रहेका जग्गादाता मणिकुमार भण्डारीले बताए ।