लहान, ५ भदौ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको लहान नगरपालिकाले शोक बिदा दिएको छ । लहान नगर प्रमुख महेश चौधरीले नेता गिरीका निधनमा नगरपालिकाले आज शोक बिदा दिएको बताए ।
लहान–१० निवासी गिरीकोे उपचारका क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको थियो । उहाँको निधनले लहान नगरपालिकास्थित बस्तीपुरगाउँ शोकमा डुबेको छ । समाजवादी चिन्तक गिरी गत विसं २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।
गिरीको निधनमा राष्ट्रपति भण्डारीसहितका नेताहरुद्धारा शोक व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज बिहान ट्वीट गर्दै “गिरीको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौँ”, उल्लेखछ । राष्ट्रपति भण्डारीले शोकाकूल परिवारमा गहिरो समवेदना पनि प्रकट गरिन् ।
अध्यक्ष दाहालद्वारा गिरीप्रति श्रद्धाञ्जलि व्यक्त
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनले आफूलाई स्तब्ध बनाएको शोक व्यक्त ।
अध्यक्ष दाहालले आज एक शोक सन्देश जारी गर्दै नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं कांग्रेसका नेता गिरीको निधनले स्तब्ध बनाएको उल्लेख गरेका छन्। गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा ‘एक गहिरो अभाव’को अनुभूति गर्दै स्व गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दे उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट उल्लेख गरेका छन्।
नेता गिरीको निधनबाट मर्माहत भएको छु : अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी ( एमाले )का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनबाट आफू मर्माहत भएको बताएका छन् ।
अध्यक्ष ओलीले आज बिहान ट्वीट गर्दै “चिन्तनशील राजनीतिकर्मी मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु ।”
नयाँ समाजवादी धारको विकासमा क्षतिः अध्यक्ष डा.भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनबाट नयाँ समाजवादी धारको विकासमा ठूलो क्षति पुगेको बताएका छन् ।
पैतालीस वर्ष निरन्तर गिरीसँगको गहन बौद्धिक विमर्शले आफूलाई ठूलो ऊर्जा प्रदान गर्ने गरेको स्मरण गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले गिरीको निधनमा निःशब्द रहेको जनाए ।