झापा,२५ असार । लिम्बुवान नागरिक समाज यूकेले लिम्बुवानी आन्दोलनका योद्दा वीर नेम्वाङलाई काङ्सोरे पुरस्कार प्रदान गर्ने भएको छ । लिम्बुवान स्वायत्तताको मुद्दामा निरन्तर आवाज उठाउनुका साथै याक्थुङ लिम्बु भाषाको विकासमा योगदान पुरयँँएको भन्दै समाजले नेम्वाङलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो ।
समाजको हालै बसेको बैठकले नेता नेम्वाङलाई काङ्सोरे पुरस्कार प्रदान गरिने निर्णय भएको अध्यक्ष छत्र वनेमले जानकारी दिए । उनका अनुसार लिम्बुवान स्वायत्तताको मुद्दालाई शान्तिपूर्वक तथा सशक्त ढंगले निरन्तर चार दशकदेखि उठाउनुका साथै याक्थुङ भाषाको विकास र प्रबद्र्धनमा अथक योगदान र्पुयाएबापत नेम्वाङलाई काङ्सोरे पुरस्कार दिने निर्णय भएको छ । एक लाख नेपाली रूपैयाँ नगदसहित ताम्रपत्र रहेको सो पुरस्कार समाजले पहिलोपटक प्रदान गर्दे छ ।
सो पुरस्कार नेपालको लिम्बुवान क्षेत्रमै एक कार्यक्रमबीच नेम्वाङलाई हस्तान्तरण गरिने अध्यक्ष वनेमले जनाए । सन् १९७४ मा सभाया खोलाको दोभानमा तत्कालीन लिम्बुवानका सेनापति काङ्सोरे राय लिम्बु र गोर्खालीतर्फका सेनाध्यक्ष रघु रानाबीच मल्लयुद्ध काङ्सोरे सहिद भएका थिए । उनलाई लिम्बुवान आन्दोलनकर्मीहरूले अत्यन्तै श्रद्धाका साथ स्मरण गर्ने गर्छन् ।
सन् १९५८ मा पान्थरको याम्बोङ हाल फाल्गुनन्द गाउँपालिकामा जन्मिएका नेम्वाङ ४० वर्षदेखि राजनीति र साहित्यमा सक्रिय छन् । पञ्चायतकालमा याक्थुङ लिम्बु भाषाको पठनपाठन र साहित्य लेखनमा उनले सक्रिय भूमिका खेलेका थिए । सो काम गरेबापत उनीसहित अन्य सहयोगीलाई राज्यले पक्राउ गरेको थियो । त्यसको केही वर्षपछि सन १९८६ मा उनले लिम्बुवान मुक्ति मोर्चा नामक राजनीतिक संगठन स्थापना गरेका थिए । राजनीतिसंगै उनले साहित्य , इतिहास सम्बन्धी नेपाली, अंग्रेजी र याक्थुङ भाषामा गरी दर्जन बढी कृति समेत प्रकाशित गरिसकेका छन् । लिम्बुवान युवाहरू वास्तविक मुक्ति चाहन्छन, लिम्बुवानको रामकहानी, सेम्मुई, माङ्हुप, लिम्बु संस्कृतिका केही विशेषता, गोपाल गुरुङको आरोप, लिम्बुको पहिचान के हो ?, वीर नेम्वाङका कविता, लिम्बुवान संघर्ष किन, लिम्बुवान जलिरहेछ लगायत उनका केही प्रकाशित पुस्तकहरू बजारमा ल्याएका छन् । समाजले प्रत्येक तीन- तीन वर्षमा पुरस्कार प्रदान गरिने जनाएको छ ।