कमल,२४ असार । झापाको कमल गाउँपालिकामा बिपद व्यवस्थापन कृतिम अभ्यास तालिम सञ्चालन गरिएको छ । कारितास नेपालको आयोजना तथा नेपाली सेना नयाँ श्री नाथ गण चारआलीको प्राबिधिक सहयोगमा विपद व्यवस्थापन अभ्यास कार्यक्रम गरिएको हो । कार्यक्रममा सर्प दंश, आगलागी तथा बाढी बाट जोगिने तथा क्षति न्यूनिकरणको उपायबारे चर्चा गरिएको थियोे । कमल — ७ रंगपुर स्थित सरस्वति माध्यमिक बिद्यालयका बिद्यार्थी, शिक्षक बिद्यालय व्यवस्थापन समिति र स्थानीय अभिभावकहरुको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा बाढीवाट बच्न स्थानीय श्रोत साधनको प्रयोग, ग्याँस सिलिन्डर लिक हुदा कसरी आगो निभाउने साथै अग्नी नियन्त्रक उपकरण कसरी प्रयोग गर्ने विषयमा जानकारी गराइएको थियो। यस्तै सर्पको टोकाईबाट जोगिने उपाय र प्राथमिक उपचार कसरी गर्ने विषयमा नेपाल सेनाका सह सेनानी निरन्जन चौहान सहितको टोलीले कृतिम रुपमा प्रस्तुति गरेका थिए। कार्यक्रममा कमल गाउँपालिका ७ का वडाअध्यक्ष पृथ्वीपति राइले यो अभ्यासले बिपदबाट जोगिन साथै क्षति कम गर्न मद्वत पुग्ने बताए । बिद्यालय तहवाटै बिपद्लाई पाठ्यक्रममा राख्न सके बर्सेनी बिपदबाट हुने जोखिम कम गर्न सकिने उनको भनाइ थियोे । कार्यक्रममा कारितास नेपाल दमक कार्यालय प्रमुख देवेन्द्र पोख्रेलले बिपद्को पूर्वतयारी र जोखिम न्युनिकरण गर्न सवै सचेत रहनु पर्ने बताए । बिद्यालयका प्रधानाध्यापक रुखमान लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संन्चालन कारितास नेपालका सामुदायिक सहजकर्ता गोविन्द राज कट्टेलले गरेका थिए ।