झापा,२४ असार । प्रदेश १ को नाम कोशी राख्न दलका शीर्ष नेताहरु सहमति नजिक पुगेका छन् । अब २०७४ मा निर्वाचित प्रदेशसभाको कार्यकाल ५ महिना मात्रै बाँकी रहेको अवस्थामा दलका शीर्ष नेताहरुले कोशीमा सहमति जुटाउन लागेका हुन् ।
काठमाडौंमा बसेको दलका शीर्ष नेताहरुको बैठकले प्रदेश १ को नाम देशकै ठूलो नदी कोशी कायम गर्ने समझदारी गरेका हुन् ।
प्रदेश १ मा राई र लिम्बुहरुको बाक्लो बसोबास छ। यस्तोमा किरात, लिम्बुवान, कोशी–किरात, सगरमाथा–किरातसहितका नाम राख्नुपर्ने बहस चलेको थियो । तर दलहरुले अब अन्य प्रदेशको जस्तै कुनै जातीय पहिचान नजोडी नाम जुराउन लागेका बताईएको छ ।
पेचिलो बनेको प्रदेश नामाकरण प्रदेश १ का पहिलो मुख्यमन्त्री शेरधन राई र दोस्रो मुख्यमन्त्री भीम आचार्य प्रदेशको नाम नजुराई बिदा भए । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको तर्फका मुख्यमन्त्री राजेन्द्र राईले आफ्नो कार्यकालमा नाम जुराउने दावी गरिआएका छन् । उनले प्रदेशसभाको ठुलो दलको हैसियतले एमालेले नामाकरणको बिषयमा अगुवाई लिन मुख्यमन्त्री राईले सुझाउ दिदैआएका छन् ।
पछिल्लो समय प्रदेशको नामकरणमा राईलाई किराती र लिम्बु समुदायले सकेसम्म जातीय पहिचान खुल्ने नाम राख्न दबाब दिएका छन् । उनी कोशी या सगरमाथा पछाडि किरात जोडेर नाम राख्ने पक्षमा देखिएका थिए ।
तर शीर्ष तहको नेतृत्वले कोशी मात्रै सिंगल शब्दको नाम राख्ने कुरामा सहमति जुटाउन लागेको स्रोतको दावी छ । दलहरुवीच सहमति भएलगत्तै अब प्रदेश सभा बैठकले प्रदेश १ को नाम कोशी जुराउने प्रस्ताव अघि बढाउने लगभग सहमति भएको बुझिएको छ ।