दमक,१४ असार । रतुवा र मावा खोलामा आएको बाढीसंगै कटान तीब्रव पारेपछि दमकका नदी किनारका बस्तीमा डुवान र कटान हुन थालेका छन् । लगातरको वर्षाका कारण बाढीआएपछि मुख्य गरि दमक १, ७ र १० का केही बस्ती उच्च जोखिममा परेको छ । बस्तीतर्फ खोला पस्न नदिन जनप्रतिनिधि, सुरक्षाकर्मीलगायतको टोली खोला किनारमा तत्काल बाढी नियन्त्रणको प्रयासमा जुटेका छन् ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले भारी बर्षाका कारण दमकमा रतुवा खोलाको कटान हुन थालेकाले त्यसलाई नियन्त्रण गर्न स्थानीयस्तरमा प्रयास भईरहेको बताए । बर्षा भईरहेकाले अहिले रतुवाले लोकमार्गसंगै रतुवापुल किनारमा कटान तीव्र पारेको उनले जनाए । अहिले तीव्र कटान भइरहेको बाँधसहितको सडक भत्कने खतरा रहेकाले यसमा सबै निकायको ध्यानाकर्षण गराएको पनि उनले बताए । उनले भने , ‘बाँध बनाउने कार्यमा वर्षाले समस्या भएको छ ।’
यसैवीच, लगातारको बर्षाबाट हुन सक्ने विपद न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्न सङ्घीय सांसद महेन्द्रकुमारी सुब्बा,दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई सबैसंग अनुरोध गरेकी छन् । उनीहरुले दमकमा केहिदिन यता रतुवा खोलाले प्रभावित बनाएकाले त्यस आसपासका बासिन्दाहरुले सतर्कता अपनाउन अनुरोध गर्दै आफूहरुले खोला नियन्त्रणका लागि आवश्यक पहलकदमी गरिरहेको उल्लेख गरेकी छन् ।