जेठ २१ गते झापामा साकेला सिली समापन हुने

दमक ,१४ जेठ । किरात राई यायोक्खा ( किराया ) झापाको आयोजनामा यहि जेठ २१ गते जिल्लास्तरिय साकेला सिली हुने भएको छ । साकेला सिली कार्यक्रमलाई औपचारिक रुपमा यसवर्ष पनि झापाको कमल गाउँपालिका वडा नम्बर ४ र ५ को संगमस्थल साकेला चौक सितापुरी उत्तर जिल्ला साकेला थान धार्मिक वनमा भव्य रुपले समापन हुने भएको छ ।
साकेला उभौलीको अवसरमा बैशाख पूर्णिमाको दिन देखि सुरु भई झापा जिल्लाका विभिन्न स्थानहरुमा कार्यक्रम भई जिल्ला स्तरीय समापन भने उक्त स्थानमा हुँदै आएको छ ।
झापाका जिल्ला भरीका गाउँनगर तथा वडा समितिहरुको साकेला सिली प्रदर्शन साथै इलाम, मोरङ र भारत बाघडोग्राबाट समेत साकेला टोली सहित कार्यक्रममा सहभागि हुने किराया झापा जिल्ला अध्यक्ष इन्द्रमान चाम्लिङ राईले बताए । विगत वर्षहरुमा ३० देखि ३५ वटा साकेला सिली टोलीको सहभागिता रहदै आएको यस कार्यक्रममा यस पटक केहि साकेला टोली बढ्ने अनुमान गरिएको छ ।
विभिन्न ९ वटा उपसमितिहरु गठन
कार्यक्रमलाई व्यवस्थित र भव्यरुपमा सम्पन्न गर्नका लागि विभिन्न ९ वटा उपसमितिहरु बनाइएको छ । कार्यक्रम मूल आयोजक समिति, स्वयवसेवक परिचालन, अतिथि सत्कार, मेला व्यवस्थापन उपसमिति लगायतको उपसमितिहरु गठन गरिएको अध्यक्ष राईले बताए ।
कार्यक्रममा साकेला सिली प्रदर्शन, विभिन्न विद्यामा अग्रज सफल व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम साथै रोटेपिङ, ड्रागन, नाउ लगायतको खेल तमासा समेत रहने मेला व्यवस्थापन समितिका सदस्य जिवन राईले बताए ।
साकेला सिली प्रतिको बढ्दो मोहलाई मध्यनजर गर्दै यस पटक कार्यक्रम व्यवस्थापनमा समेत ध्यान दिइएको किराया जिल्ला सदस्य सुशिल राईले बताए । करिब ६ देखि ८ हजार मानिहरुले अवलोकन गर्दै आएको यस कार्यक्रम कोरोना पछिको पहिलो कार्यक्रम भएकाले कार्यक्रममा सहभागिता संख्या बढ्ने अनुमान गरिएको राईले बताए ।

Leave a Reply

Your email address will not be published.