
दमक,१ जेठ । नेकपा एमाले केपी शर्मा ओलीको गृहनगर दमकमा गठबन्धनका उम्मेदवारले अग्रता बढाउदै लगेका छन् ।
सत्तापक्षीय गठबन्धनमा राप्रपा समेतलाई समावेश गरेर महागठबन्धन बनाएर निर्वाचनमा होमिएको गठबन्धनले विस्तारै आफनो अग्रता बढाउदै लगेका छन् ।
गठबन्धनबाट मेयरका उम्मेदवार राम थापाले मतान्तर बढाउँदै लगेका छन् । थापाले ३७२९ मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी एमालेकी गीताकुमारी पौडेल अधिकारीले ३२६२ मत पाएकी छन् ।
यस्तै उपप्रमुखमा गठबन्धनको तर्फबाट काँग्रेसकी उम्मेदवार रेगिना भट्टराईले ३६८६ र नेकपा एमालेका उम्मेदवार अम्बिका खनालले ३२३३ मत ल्याएकी छन् । दमकको १,१० गणना पछि दमक २ को गणनाको क्रममा गठबन्धनले विस्तारै मतान्तर बढाउदै लगेका हुन् ।
यता ओलीको निर्वाचन क्षेत्र कमल गाउँपालिकामा पनि कांग्रेसका उम्मेदवार हुकुमसिंह राई सहितका गठबन्धनले नै आफनो अग्रता कायम राखिआएका छन् ।