
झापा , जेठ १ । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा खाता खोलेको छ ।उसले हल्दिबारी १ मा वडाध्यक्षसहित पुरै प्यानल जितेको हो । निवर्तमान वडाध्यक्ष एमालेका त्रिलोचन सापकोटालाई हराउँदै हल्दिबारी १ गोलधापमा राप्रपाका तर्फबाट वडाध्यक्ष देवीबहादुर थापा विजयी भएका छन् ।
त्यस्तै वडा सदस्यमा राप्रपाका प्रकाश कार्की, कुलबहादुर राई, शान्ता खतिवडा शिवाकोटी र रुपादेवी रसाइली विजयी भएका छन् । हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाका रविन्द्र लिङ्देनले फराकिलो मतान्तर कायम राखेका छन् ।
कमल २ मा नेकपा एस विजयी
झापा , जेठ १ । नेकपा एकीकृत समाजवादीले झापामा खाता खोलेको छ ।गठबन्धनका तर्फबाट निर्वाचन लडेको एकीकृत समाजवादीले पुरै प्यानल जितेको हो । कमल गाउँपालिका वडा नं २ मा एकीकृत समाजवादीका अशोक सुब्बाले वडाध्यक्ष जितेका छन् । उनले एमालेका धनबहादुर बस्नेतलाई हराएका छन् । लिम्बूले १८६० र बस्नेतले १०३४ मत पाए ।
त्यस्तै सदस्यहरुमा एकीकृत समाजवादीका भिमबहादुर कार्की, महेन्द्र खत्री, सोममाया नेपाली, कल्पना राई निर्वाचित भएका छन् ।
गौरादह १ मा एमालेका भण्डारी विजयी
गौरादह , जेठ १ । नेकपा एमालेले गौरादह नगरपालिका वडा नं १ मा प्यानलै जितेको छ । नेपाली कांग्रेसका इन्द्र गौतमलाई पराजित गरी वडाध्यक्षमा नगेन्द्र भण्डारीसहित पुरै प्यानल एमालेले जितेको हो । भण्डारीले १९९३ र उनका प्रतिद्वन्द्वी गौतमले १७३१ म्त ल्याएका छन् । भण्डारी निवर्तमान वडाध्यक्ष हुन् ।